• ट्रेण्डिङ:

कोभिड–१९ को महामारी

हलेसी मन्दिरसहित जिल्लाका विभिन्न स्थानमा लाग्ने सम्पूर्ण हाटबजार बन्द गर्ने निर्णय 

हलेसी मन्दिरसहित जिल्लाका विभिन्न स्थानमा लाग्ने सम्पूर्ण हाटबजार बन्द गर्ने निर्णय 

रोदिक खबर

१३, बैशाख २०७८
  • 11.9K
    SHARES
  • हलेसी मन्दिरसहित जिल्लाका विभिन्न स्थानमा लाग्ने सम्पूर्ण हाटबजार बन्द गर्ने निर्णय 

    खोटाङ । कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रिधार्मिकस्थल हलेसीलाई १५ दिन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको सोमवार बसेको बैठकले दैनिकजसो दर्शनार्थीको भीड लाग्ने हलेसी मन्दिरलाई बैशाख १५ गतेदेखि बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवं तीर्थयात्रीको भीडभाडका कारण एक अर्कामा कोभिड–१९ को संक्रमण फैलने खतरा बढेकाले हलेसी मन्दिर बन्द गर्ने निर्णय गरिएको हो । कोभिड–१९ कै महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ साल चैत ८ गतेदेखि २०७७ साल मंसिर १६ गतेसम्म बन्द गरिएको हलेसी मन्दिरलाई पुःन बन्द गर्न लागिएको हो ।

    गत वर्ष कोरोना कहरकाबिचमा हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीका गुफाको फलामे गेटमा ताला लगाएर बाहिरैबाट पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । 

    कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले हलेसीको गुफा प्रवेशमा रोक लगाइएको यो दोश्रो पल्ट हो । कोभिड–१९ को महामारीका क्रममा बन्द गर्नु अगाडि हलेसी गुफा कहिल्यै बन्द गरिएको थिएन ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) को बैठकले हलेसी सँगै जिल्लाका सबै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चमा दैनिक रुपमा गरिने नित्य नैनित्य पूजा, प्रार्थना बाहेक भेला भएर गरिने पूजा, प्रार्थना, भजनकृतन, कलश यात्रा, बलिपूजा जस्ता धार्मिक कार्यहरु बैशाख मसान्तसम्म बन्द गर्ने/गराउने निर्णय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) का संयोजक एबं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

    यस्तै, खोटाङका १० वटै स्थानीय तहका विभिन्न स्थान र समयमा लाग्ने सम्पूर्ण हाटबजार अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने/गराउने निर्णय गरिएको  प्रमुख जिल्ला अधिकारी  शर्माले बताए ।

    कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले भेला जम्मा भएर गरिने सभा, सम्मेलन, गोष्ठी, मेमिनार, उद्घाटन, शिलान्यास, चियापान कार्यक्रम जस्ता राजनैतिक तथा अन्य क्रियाकलाप नगर्ने÷नगराउने निर्णय गरेको छ । 

    यस्तै, कार्यालय, पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग गर्ने, कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा १० रुपैयाँ लिएर मास्क उपलव्ध गराउने, मास्क नलगाउने व्यक्तिलाई कार्यालय वा पसलमा प्रवेश गर्न नदिने निर्णय गरेको जनाइएको छ । 

    प्रकाशित मिति :बैशाख १३, २०७८ सोमवार - १८:४७:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको