खोटाङ । स्थानीय स्तरमा स्वरोजगार अभिवृद्धि गर्दै पर्यटनको दिगो विकास गर्ने लक्ष्यका साथ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा होमस्टे (घर वास) तालिम सुरु गरिएको छ ।
आफ्नो घर वा समुदायमा निजी वा सामुहिक रुपमा पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्दै आर्थिक आयआर्जनका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्राविधिक सहयोग र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा खोटाङ उद्योग वाणिज्य संघले एक हप्ते होमस्टे तालिम आयोजना गरेको हो ।
मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेलको मुढेमा ‘संस्कार, संस्कृतिको प्रवद्र्धन, पर्यटक पाहुनाको सत्कारबाट आयआर्जन’ भन्ने नारा सहित सुरु गरिएको होमस्टे तालिम सोमवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने पर्यटकीय स्थल आसपासमा होटल व्यवसाय गरिरहेका व्यवसायी एवं इच्छुक स्थानीयलाई सहभागी गराएर होमस्टे तालिम आयोजना गरिएको हो । होमस्टे तालिममा बुईपा–महुरे–नुनथला–हुर्लुङ–मुढे–तालखर्क–भुलभुले जोड्ने सडक आसपासका स्थानीय होटल व्यावसायी एवं इच्छुक स्थानीयलाई सहभागी गराइएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले बताए ।
पर्यटकीय स्थल रुपाकोट जाने बाटोमा आयोजना गरिएको तालिम वैशाख ३० गतेसम्म सञ्चालन हुने छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुईपामा निर्माणाधिन यलम्बर पार्क, महुरे, नुनथला, हुर्लुङ, रुपाकोट भ्यू टावर, मझुवागढी, पेनटावर, भुलभुले दुधकुण्ड देउधाम लगायतका पर्यटकीय स्थल आसपासमा रहेको होमस्टेको सम्भावनालाई ध्यान दिएर तालिमको आयोजना गरिएको हो ।

होमस्टे तालिममा नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्र आसपासका व्यवसायी एवं व्यवसाय गर्न इच्छुक गरी ४० जनाको सहभागीता रहेको छ ।
तालिममा सहभागीलाई पर्यटन र पर्यटक सम्वन्धी आवश्यक जानकारी, होमस्टे सञ्चालन तथा व्यवस्थापन, पाहुनाको स्वागत र सत्कार, सरसफाई, स्थानीय स्तरमा उत्पादन हुने खाद्य तथा पेय सेवा, खाद्य उत्पादन तथा नियन्त्रण, प्राथमिक उपचार तथा लागू औषध, आचार संहिता र स्थानीय पर्यटकीय गतिविधि योजना तथा बजारीकरण लगायतका वारेमा जानकारी दिइने नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रशिक्षक समिक शर्माले बताए ।
पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानहरुमा होमस्टे व्यवस्थापन तथा स्थानीय स्तरमा उपलव्ध कच्चा पदार्थको उपयोग गरी पर्यटकलाई पारिवारिक वातावरणमा सत्कार र सेवा उपलव्ध गराउँदै स्थानीय कला, संस्कृति तथा पर्यटकीय गतिविधि सम्वन्धी आवश्यक जानकारी गराउन र समग्रमा पर्यटकलाई गुणात्मक सेवा प्रदान गर्न होमस्टे तालिम उपलव्धमुलक हुने अपेक्षा गरिएको छ । ‘तालिममा पर्यटन र पर्यटकको महत्व बारे बताउँछौँ ।
आफ्नै वासस्थानलाई व्यवस्थित गरी होमस्टे कार्यक्रम सञ्चालन गर्न, पर्यटकलाई दिइने सेवा सुविधा तथा आतिथ्यता बारे सामान्य परिचय दिन्छौँ,’ प्रशिक्षक शर्माले भने, ‘पर्यटकको रुची अनुसार स्थानीय स्तरमा खाद्य तथा पेय पदार्थ तयार गर्न र सेवा दिन, पर्यटकलाई पारिवारिक वातावरणमा बसाइको व्यवस्था मिलाउन, पर्यटकसँग गरिने चालचलन तथा व्यवहार, स्थानीय कला, संस्कृतिको आदान प्रदान गरी यसको महत्वबारे जानकारी गराउन उत्प्रेरित गरिनेछ ।’
होमस्टेको अर्थ पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यले आफ्नो घर वा समुदायमा निजी वा सामुहिक रुपमा सञ्चालन गरिएको सेवा भन्ने हुन्छ । होमस्टे तालिमका माध्यमबाट ग्रामीण क्षेत्रका स्थानीय जनतामा स्वरोजगारका अवसर सिर्जना हुने र आम्दानी वृद्धिको माध्यमबाट जीवन स्तरमा सुधार ल्याउन टेवा पुग्ने नगरप्रमुख रिजालले बताए ।
तालिम उद्घाटनका क्रममा उपप्रमुख बिणादेबी राई, सोल्माका वडाध्यक्ष हर्क खत्री, कर अधिकृत सुजित सिं लगायतले शुभकामना मन्तव्य दिएका थिए । यस्तै, आफ्नो जातीय भेषभुषामा सजिएका शेर्पा समुदायले परम्परागत नृत्य प्रस्तुत गरेका थिए ।