खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले कोभिड–१९ को महामारीका बेला पत्रकारलाई सहजताका साथ सूचना उपलव्ध हुने वातावरण निर्माणको माग गरेका छन् ।
महासंघका अध्यक्ष दिलीप खत्रीले बिहिबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणको उच्च जोखिम मोलेर आम नागरिकलाई सूसुचित गराउने गहन जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई सहजताका साथ सूचना तथा जानकारी आदान–प्रदान गर्ने वातावरणका लागि सरोकारवाला निकाय पक्ष समक्ष माग गरेका हुन् ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा निर्मुलन पार्न नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा नीति, कार्यक्रम, स्वास्थ्य योजना तथा निर्णयप्रति ऐक्यवद्धता जनाउँदै महासंघले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने÷गराउने वातावरण निर्माणका लागि समन्वय र सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ ।
पत्रकार महासंघले कोरोना कहरका समयमा ‘आफु बच्ने र बचाउने’ अभियान सफल पार्नका लागि सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउन जिल्लास्थित जनप्रतिनिधि, प्रशासन, प्रहरी, राजनीतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाज लगायतलाई अपिल गरेको छ । महामारीको कठिन परिस्थितिमा पत्रकारिताको माध्यमबाट आम नागरिक माझ सही सूचना पु¥याउन सकेको खण्डमा थप क्षति व्यहोर्नु नपर्ने विज्ञाप्तिमा उल्लेख छ ।
पत्रकार महासंघले जिल्लामा कार्यरत सञ्चारकर्मीलाई व्यक्तिगत स्वास्थ्यप्रति अधिकतम सजगता अपनाउँदै जिम्मेवारी पुरा गर्न आग्रह गरेको छ । ‘सकेसम्म घर वा कोठामै रहेर काम गरौं, यदि रिर्पोटिङमा निस्कनु परेमा उच्च सर्तकता अपनाऔं,’ विज्ञाप्तिमा भनिएको छ, ‘आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।’