खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड–१९ को महामारीकाक्रममा संक्रमितको उपचार अभावमा अकालमै मृत्यु हुने अवस्था आउन नदिन स्थानीय तहलाई आग्रह गरेको छ ।
कोभिड–१९ को सम्भावित जोखिमको रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यलाई प्रभावकारी बनाउँदै बढ्दो संक्रमण दरलाई न्यूनीकरण गर्नका लागि गृह–मन्त्रालय (शान्ति तथा अपराध नियन्त्रण शाखा) को बैशाख १४ गतेको पत्र अनुसार जिल्ला प्रशासन कार्यालयले संक्रमितको उपचार सेवा प्रभावकारी बनाउन र उपचारको अभावमा अकालमा मृत्यु हुने अवस्था आउन नदिन आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी बिकल श्रेष्ठले जारी गरेको पत्रमा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको शीघ्र पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ तथा पिसिआर परीक्षणको कार्यलाई सरल, छिटो र व्यापक बनाउनका लागि घुम्ती शिविर सञ्चालन गर्न, आफुखुसी बस्दा अन्यलाई संक्रमण सर्ने जोखिम उच्च देखिएकोले होम आइसोलेसनमा बस्न सम्भव नहुने संक्रमितलाई सम्वन्धित स्वास्थ्य संस्थाको समन्वयमा संस्थागत आइसोलेसनको व्यवस्था गर्न आग्रह गरिएको छ ।
यस्तै, क्वारेन्टिन तथा आइसोलेसन केन्द्रलाई महिलामैत्री बनाउन, भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने नागरिकको हकमा स्थानीय तहको अनुगमनमा अनिवार्य १० दिन होम क्वारेन्टिममा बस्न÷बसाउन, होटल वा होम क्वारेन्टिममा बसे÷नबसेको वारेमा अनुगमन गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई नियमित प्रतिबेदन पेश गर्न भनिएको छ ।
जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को कारण देखाएर दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामग्रीको बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, म्याद सकिएका खाद्यवस्तुको रि–लेवलिङ गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने जनाएको छ ।