खोटाङ । खोटाङको साकेला गाउँपालिकामा दुई जनालाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पूष्टि भएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई कोभिड–१९ को संक्रमण पूष्टि भएको हो । गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेर पठाइएकोमा दुई जनालाई संक्रमण पूष्टि भएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए ।
काठ्माण्डौंमा अध्ययनरत रोका बैशाख १५ गते र खत्री चितवनबाट बैशाख १६ गते घर आएका हुन् । उनीहरु दिक्तेलबजार हुँदै घर पुगेको खुलेको छ । हाल उनीहरुको कन्ट्याक्ट ट्रेसिङका काम भइरहेको छ ।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हाल होम आइसोलेसनमा बसिरहेका संक्रमितलाई मंगलबार बिहान साकेला गाउँपालिका–२ रतन्छास्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा लगेर राख्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए ।
गाउँपालिकाले बैशाख १८ गते २६ जनाको स्वाव परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाएकोमा सोमबार रिपोर्ट आएको हो । खोटाङका १० स्थानीय तहमध्ये साकेला गाउँपालिकाले मात्र स्थानीयको पिसिआर परीक्षणमा तत्परता देखाएको हो । हालसम्म अन्य स्थानीय तहले भने शंकास्पद व्यक्तिको पिसिआर परीक्षणमा ध्यान पु¥याउन सकेको छैन ।