खोटाङ । खोटाङको हलेसीस्थित जाम्बाला रिसोर्टमा मृत फेला परेका कामदारको तीन दिनपछि पोष्टमार्टम गरिएको छ । गत बैशाख १८ गते साँझ सुतेकै कोठामा मृत फेला परेका जाम्बाला रिसोर्टका कामदार निलकण्ठ नगरपालिका–४ धादिङका ४४ वर्षीय एकबहादुर मल्ल ठकुरीको मंगलबार पोष्टमार्टम गरिएको हो ।
जाम्बाला रिसोर्टका सञ्चालक वार्तामा आउनुपर्ने र मृतक परिवारको माग पूरा गर्नुपर्ने भन्दै आफन्तले पोष्टमार्टमका लागि जाहेरी नदिएपछि पोष्टमार्टम हुन सकेको थिएन ।
ठकुरीको शव बैशाख १९ गतेदेखि जिल्ला अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो । मृतकका आफन्तको माग अनुसार रिसोर्ट सञ्चालक छलफलमा आएपछि र मृतक परिवारको माग सम्बोधन भएपछि शवको पोष्टमार्टम गरिएको हो ।
रिसोर्ट सञ्चालककातर्फबाट शवलाई गाउँसम्म लैजाने र किरिया खर्च स्वरुप डेढ लाख उपलव्ध गराएपछि पोष्टमार्टम गरेर शव गाउँ लगिएको मृतकका भाई शेरबहादुर मल्ल ठकुरीले बताए ।
दिउँसो खाजा खाएर कामदार सुत्ने रिसोर्टकै कोठामा आराम गर्न गएका एकबहादुर बेलुका मृत फेला परेका थिए । उनको बुधबार दाहसंस्कार गरिएको छ । उनी गत बैशाख १ गते मात्र जाम्बाला रिसोर्टमा कामदारकारुपमा आएका थिए । उनका श्रीमती र १० वर्षका छोरी छन् ।