खोटाङ । खोटाङमा दुई पुरुष बेपत्ता भएका छन् । फरक–फरक समयमा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार लुम्बुरछाङका ४४ वर्षीय प्रेमसुन्दर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३० वर्षीय विसन कट्वाल बेपत्ता भएका हुन् । राई २०७८ बैशाख २१ गतेदेखि र कट्वाल २०७६ फागुन ३ गतेदेखि बेपत्ता भएका हुन् ।
राई लुम्बुरछाङकै लामबारीमा मकै छरिरहेका समय मल छर्नेक्रममा विहान साँढे ११ बजेतिर खोल्सातिर गएपछि सम्पर्क बिहिन भएका हुन् । शनिवारसम्म खोजी गर्दापनि नभेटिएपछि आइतबार खोजीका लागि प्रहरीचौकी च्यास्मीटारलाई हुलिया सहित निबेदन दिइएको आफन्त तथा शिक्षक दानकुमार राईले बताए ।
दिशापिसाव गएको ठाने पनि दिनभर नआएपछि सम्भावित ठाउँमा खोजी गर्दा पनि राई भेटिएका छैनन् । लुम्बुरछाङ, दाल्फु, खानीगाउँको खोलाखाल्सी, जंगलदेखि दुधकोसीसम्म पुगेर खोजी गर्दा पनि राईको अवस्था अज्ञात छ । बेपत्ताको खोजी जारी छ ।
कट्वाल भने मोरङको उर्लाबारीबाट धुलिखेल जाने भन्दै हिँडेको तर हालसम्म परिवारको सम्पर्कमा नआएको आफन्तले बताएका छन् । खोजीका लागि प्रहरीलाई निवेदन दिएको झण्डै डेढ वर्ष बितिसक्दा पनि विसनको पत्तो नलागेको उनका कान्छा भाई खेमराज कट्वालले बताए ।
विसन बेपत्ता बनेपछि उनका जेठा दाजु बलराम कट्वालले २०७६ फागुन ७ गते प्रहरीचौकी उर्लाबारीमा खोजतलासका निवेदन दिएका थिए । विसन सम्पर्क विहिन बनेपछि श्रीमती र दुई छोरीको बिचल्नी भएको छ । हाल उनीहरुलाई कान्छो भाई खेमराजले आश्रय दिइरहेका छन् ।