खोटाङ । कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको खोटेहाङ गाउँपालिकाले स्वास्थ्य संस्था बाहेकका कार्यालयको सेवा प्रवाह बन्द गरेको छ ।
महामारीका बेला हुने सेवाग्रहीको भिडभाडका कारण एकबाट अर्कोमा संक्रमण सर्ने खतरा भएको भन्दै गाउँपालिका, गाउँ विपद व्यवस्थापन समितिको सोमबार बसेको आकस्मिक बैठकले गाउँपालिकाभित्रका स्वास्थ्य संस्था बाहेकका सरकारी तथा गैर–सरकारी कार्यालय, संघसंस्था आगामी बैशाख ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार गाउँपालिका, गाउँपालिका अन्तरगतका ९ ओटै वडा कार्यालय, विद्यालय लगायतका सरकारी कार्यालय, संघसंस्था लगायतका कार्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले जारी गरेको सूचनामा उल्लेख छ ।
यसबीचमा सरकारी, गैर–सरकारी कार्यालय तथा संघसंस्था बन्द गरिए पनि औषधि पसल भने नियमित खुला रहने गाउँपालिकाले जनाएको छ ।
बैशाख २७ गते राती १२ बजेदेखि लागू हुनेगरी गाउँपालिकाभित्र बाह्य हिँडडुल तथा आवतजावत एवं निर्माण सम्वन्धी काममा रोक लगाइएको छ । यस्तै, गाउँपालिकाभित्रका हाटबजार, होटल, गेष्टहाउस, रेष्टुरेण्ट तथा सम्पूर्ण पसल पनि बैशाख ३१ गतेसम्मका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।