खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले पालिका प्रवेशका लागि पिसिआर परीक्षण रिपोर्ट अनिवार्य गरेको छ । कोभिड–१९ को महामारी रोकथाम तथा न्यूनीकरणका लागि गाउँपालिकाको गाउँकार्यपालिकाको सोमबार बसेको बैठकले पिसिआर परीक्षण गरेको रिपोर्ट लिएर आउने व्यक्तिलाई मात्र अन्यत्रबाट पालिका प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो ।
गाउँपालिकाभन्दा बाहिरबाट आएका व्यक्तिहरुले ७२ घण्टाभित्र ‘आफु जुन वडामा आएको हो सो वडाको’ वडा कार्यालयमा पिसिआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । छिमेकी पालिकामा दिनानुदिन संक्रमित फेला परिरहेको अवस्थामा केपिलासगढीले आफ्नो क्षेत्रभित्रको प्रवेशमा कडाइ गर्ने निर्णय गरेको हो ।
बैठकले गाउँपालिकाभित्र साप्ताहिकरुपमा लाग्ने हटियाहरु बन्द गर्ने, गाउँपालिकाको केन्द्र बाक्सिलाबजारमा हाट लाग्ने दिन हरेक बुधबार गाउँपालिका भित्रका स्वास्थ्य संस्था बाहेकका कार्यालय तथा सम्पूर्ण पसल पूर्णरुपमा बन्द गर्ने, अन्य बार दैनिक बिहान ७ बजेदेखि १२ बजेसम्म मात्र पसल खोल्ने तर पसल खोल्दा पसलको एउटा ढोका मात्र खुला गर्ने, पसल बाहिर वा पेटीमा सामान नफिजाउँने निर्णय गरेको छ ।
यस्तै, यातायात व्यवसायीले गाउँपालिका बाहिरबाट आएका सवारी साधन तथा यात्रुको विवरण गाउँपालिकालाई नियमित उपलव्ध गराउनुपर्ने, गाउँपालिकाको आइसोलेसन सेन्टर बाक्सिलाकै बुद्धबजारमा रहने प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले जारी गरेको सूचनामा उल्लेख छ ।