काठमाडौं । विभिन्न जिल्लामा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ। सुनसरीको धरानमा ३, चितवनमा २, मोरङ, रुपन्देही र भक्तपुरमा एक÷एक जनाको मृत्यु भएको हो।
चितवनको भरतपुर महानगर २ क्षेत्रपुर बस्ने ५१ वर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। हेटौंडा १९– की ७१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो।
स्वासप्रश्वास सम्बन्धी समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ८ गते संक्रमण पुष्टि भएको थियो। उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए।
यसैगरी रुपन्देहीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उनका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको गएराति साढे २ बजे मृत्यु भएको हो। भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समस्या पनि थियो।
यस्तै, भक्तपुरमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि लैजाने क्रममा गएराति मृत्यु भएकी ६२ वर्षीया महिलामा आज विहान कोरोना संक्रमण पुष्टि भएको हो। उनी उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ।
यसैबीच, विराटनगरस्थित कोशी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। सिरहाको लहानकी ६५ वर्षीया महिलाको आज विहान मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए। फोक्सोमा समस्या भएर उनी गत बिहीबार अस्पताल पुगेको दासले बताए।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापा, मोरङ र सिराहाका कोरोना संक्रतिमको मृत्यु भएको हो। झापाको कमल गाउँपालिका ३ का ८३ वर्षीय वृद्धको आज विहान पौने ४ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।
सापकोटाका अनुसार भदौ ३ गते कोरोना पुष्टि भएदेखि उनी प्रतिष्ठानमा उपचाररत थिए। दुवै मृगौला फेल भएर लामो समयदेखि डायलासिस गराइरहेका उनी उच्च रक्तचाप र मधुमेहका पनि दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ।
यस्तै मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिलाको आज विहान सवा ३ बजे मृत्यु भएको छ। उनमा भदौ ९ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। पहिला कोशी अञ्चल अस्पताल पुगेकी ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्रतिष्ठानमा रिफर गरिएको थियो।
यसैबीच, प्रतिष्ठानमै उपचारका क्रममा रहेका सिराहाका ५५ वर्षीय पुरुषको हिजो बेलुकी मृत्यु भएको छ। भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका सिराहा नगरपालिका १ का पुरुषमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो। उच्च रक्तचापका विरामी समेत रहेका उनलाई अवस्था जटिल भएपछि दुई दिनदेखि आइसियुमा राखेर उपचार गरिएको थियो।