खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको वडा कार्यालय सार्नेक्रममा असन्तुष्ट स्थानीयले अवरोध गरेका छन् । सोल्माको होस्माटोल साकेलाथान नजिकै भाडाको घरबाट सञ्चालन हुँदैआएको वडा कार्यालयलाई डाँडागाउँस्थित बसपार्क नजिकै निर्माण गरिएको नयाँ भवनमा सार्नेक्रममा स्थानीयले अवरोध गरेका हुन् ।
बुधबारदेखि नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्नेगरी मंगलबार वडा कार्यालयको सामान सार्नेक्रममा असन्तुष्ट स्थानीयले अवरोध सिर्जना गरेका छन् । होस्माटोल साकेलाथान आसपासमै वडा कार्यालय कायम गर्न माग गर्दै आएका स्थानीयको अवरोधका कारण वडा कार्यालयको सामान सार्ने प्रयास असफल भएको छ ।
सामान ओसार्नका लागि वडाका कर्मचारीले लगेको ट्याक्टर रित्तै फर्किएको छ । वडा कार्यालयको सामान सार्नेक्रममा अवरोध खडा भएपछि सोल्मामा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नै परिचालन गरिएको थियो । टेण्डरमा नयाँ भवन निर्माण भएपछि डाँडागाउँमा वडा कार्यालय सार्न लागिएको हो ।
सोल्मामा वडा कार्यालय कहाँ राख्ने भन्ने विषयमा सुरुदेखि नै विवाद थियो । अन्तिममा केही पक्षको असहमतीकै बीच डाँडागाउँमा वडा कार्यालयलाई स्थायी रुपमा राख्ने टुंगो लगाइएको थियो । असहमती जनाउँदा–जनाउँदै सबैको पायक पर्ने ठाउँमा भवन नबनाइएको, त्यसमाथि एउटा प्लट भन्दै फरक–फरक ठाउँको तीन टुक्रा जग्गा वडा कार्यालयको नाममा पास गरेर भवन बनाइएको पाइएकाले विरोध जनाउनु परेको स्थानीय धनिराम नछुङले बताए ।
वडा सदस्य अम्मरबहादुर श्रेष्ठले पनि मंगलबार विज्ञाप्ती जारी गर्दै भवन निर्माण गरिएको जग्गा एकमुष्ट ५ रोपनी भन्दा बढि हुनुपर्नेमा वडाध्यक्ष र केही व्यक्तिहरुको मिलेमतोमा प्राविधिकले नापेकोभन्दा फरक–फरक जग्गा र छुट्टाछुट्टै स्थानमा वडा कार्यालयको नाममा जग्गा पास गरिएको पाइएको भन्दै भत्र्सना गरेका छन् ।
‘बल मिच्याइ गरेर वडाको भवन बनाइयो । अहिले भवनको विरोध गरेको होइन । तर, किन टुक्रे जग्गामा बनाइयो भन्ने प्रश्न हो,’ नछुङले भने, ‘वडाको नाममा जग्गा पास हुन अगावै भवन निर्माण सुरु गरियो । टुक्रे जग्गा लिएर वडाबासीलाई एकमुष्ट जग्गामा भवन बनाउने भनेर छारो काम गरियो ।’
गत बैशाख १८ गते नै उद्घाटनको तयारी गरिएको वडा कार्यालयको भवन कोभिड–१९ को महामारीका कारण रोकिएको हो । भवन उद्घाटनको व्यानर नै तयार भइसकेको जनाइएको छ । सोल्माका वडाध्यक्ष हर्क खत्रीले भवन निर्माण भइसकेपछि वडा कार्यालय सर्नेबेला अड्को थाप्नुको कुनै अर्थ नभएको बताए ।
‘कि पहिल्यै भवन बनाउन दिन हुन्नथ्यो, बनिसकेपछि अहिले अड्को थापेर हुन्न,’ वडाध्यक्ष खत्रीले भने, ‘राज्यको लगानी भएको ठाउँमा वडा कार्यालय सार्न खोजिएको हो । मेयरसावसँग बसेर सल्लाह गरेर वडा कार्यालय सार्ने काम हुन्छ ।’ वडाध्यक्ष खत्रीले टुक्रा भनिएको वडा कार्यालयको जग्गा भवनभन्दा करिब ३० मिटर तल भएको बताए ।