खोटाङ । कोभिड–१९ को महामारीकाबेला हुनसक्ने मूल्य बृद्धि, कृत्रि अभाव एवं कालोबजारी नियन्त्रणका लागि खोटाङको साकेला गाउँपालिकाले बजार अनुगमन गरेको छ । कोभिड–१९ को महामारीक कारण देखाएर बजारमा चर्को मूल्या वृद्धि भइरहेको गुनासो उठिरहेको बेला साकेला गाउँपालिकाले बुधबार बजार अनुगमन गरेको हो ।
गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ बजारका खाद्य तथा किराना पसल अनुगमनका क्रममा एरिका किराना पसलबाट म्याद गुज्रेको १४ थान कोलगेट, जेनिस जस्विन स्टोरबाट १ बट्टा चकलेट, गुराँस किराना पसलबाट ६ पोका बेसार र २० पोका खाने सोडा तथा कट्टेल किराना पसलबाट १ बट्टा ललिपप चकलेट बरामद गरिएको गाउँपालिकाका रोजगार संयोजक प्रविण पोखरेलले बताए ।
बजार अनुगमनकाक्रममा उपभोग्य वस्तुको मूल्या वृद्धि भएको पाइएको अनुगमन टोलीले जनाएको छ । तर, स्थानीय व्यवसायीले उपभोग्यवस्तुको मूल्या बढाएको नभै थोकविक्रेताबाटै मूल्या बढेर आएको पाइएको रोजगार संयोजक पोखरेलले बताए । बजार अनुगनकाक्रममा फेला परेका म्याद नाघेका सामान जलाएर नष्ट गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगर, कार्यक्रम अधिकृत दुर्गबहादुर राई, प्रहरी नायब निरिक्षक शम्भुप्रसाद पौडेल लगायतको टोलीले मानेभञ्ज्याङको बजार अनुगमन गरेको हो ।

गृह–मन्त्रालय (शान्ति तथा अपराध नियन्त्रण शाखा)को पत्र अनुसार जिल्ला प्रशासन कार्यालयले बैसाख १५ गते जारी गरेको सूचनामा पनि कोभिड–१९ को महामारीकाक्रममा हुने कृत्रिम अभाव, महंगी र कालोबजारी नियन्त्रणमा पनि चासो देखाइएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी बिकल श्रेष्ठले जारी गरेको सूचनामा कोभिड–१९ को कारण देखाएर दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामग्रीको बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, म्याद सकिएका खाद्यवस्तुको रि–लेवलिङ गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने उल्लेख छ ।
कोभिड–१९ को चर्चा सँगै बजारमा उपभोग्यवस्तुको मूल्य वृद्धि हुन थालेको सन्दर्भमा प्रशासनले बजार अनुगमनलाई तिव्रता दिने र कानून विपरितका काम गर्ने व्यवसायीलाई कडा कारबाही गरी सार्वजनिक गर्ने चेतावनी दिएको थियो ।