खोटाङ । खोटाङमा एकै दिन १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार गरिएको एन्टीजेन परिक्षणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ११ जना, हलेसी तुवाचुङ नगरपालिकामा २ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९२ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए ।
हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४४ जना, हलेसी तुवाचुङ नगरपालिकामा १५ जना, साकेला गाउँपालिकामा १२ जना, ऐसेलुखर्क गाउँपालिकामा ८ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा ३ जना सक्रिया संक्रमित छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । संक्रमितमध्ये ८३ जना होमआइसोलेसनमा र ९ जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका दुई संक्रमितलाई श्वास प्रश्वासमा समस्या भएपछि अक्सिजन दिनका लागि आइसोलेसनमा राखिएको नगरप्रमुख इवन राईले बताए ।
रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका एकै गाउँका पाँच जनालाई संक्रमण पुष्टि भएपछि २५ जनाको स्वाव संकलन गरेर परीक्षणमा पठाइएको छ । बुधबार गरिएको एन्टीजेन परिक्षणमा ६ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनालाई संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जनाको पिसिआर परीक्षणका लागि नमूना संकलन गरेर बिहिबार बिराट नगर पठाइएको हो ।
कुभिन्डेमा इटहरीबाट गाउँ आएका व्यक्तिबाट संक्रमण फैलिएको अनुमान गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । एन्टीजेन किट सकिएकाले स्वाव संकलन गरेर पिसिआर परीक्षणमा पठाइएको हो । पाँच जना संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ ।
दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ । संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ ।
जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ ।