खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोभिड–१९ को संक्रमणबाट संक्रमितको मृत्यु भएको अवस्थामा सदगद गर्ने स्थान निर्धारण गरेको छ ।
नोबेल कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण नगस्तरिय समन्वय समितिका संयोजक एवं नगरप्रमुख इवन राईको अध्यक्षतामा आइतबार हलेसीमा बसेको बैठकले होमआइसोलेसन वा नगरपालिकाले बनाएको संस्थागत आइसोलेसनमा संक्रमितको मृत्यु भएको अवस्थामा अपनाइने सदगत विधि र सदगद गर्ने स्थानका बारेमा छुट्टा–छुट्टै व्यवस्था गर्ने निर्णय गरेको हो ।
होमआइसोलेसनमा संक्रमितको मृत्यु भएको अवस्थामा आफन्तको इच्छा अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सदगद गर्न अनुमति दिने तर नगरपालिकाले बनाएको संस्थागत आइसोलेसनमा संक्रमितको मृत्यु भएको हकमा भने नेपाली सेनाको सहयोगमा घाटमा लगेर जलाउने वा पाखामा पुरेर सदगद गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको नगरप्रमुख राईले बताए ।
घाटमा लगेर जलाउने संस्कार भएका संक्रमितको शव दुधकोसी किनारको महादेवबेँसीमा लगेर जलाइने र जमिनमा गाड्ने संस्कार भएका संक्रमितको शव भने हलेसीको तिल्केचौंरमा पुर्याएर सदगद गर्ने टुंगो लगाइएको छ । ‘संक्रमणको बेला सदगद सम्वन्धी समस्या आउन सक्छ ।
त्यही भएर होम आइसोलेसनमा संक्रमितको मृत्यु भए भने आफन्तको इच्छा अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर दाहसंस्कार गर्न दिइन्छ,’ नगरप्रमुख राईले भने, ‘यदि नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा संक्रमितको मृत्यु भएमा संस्कार अनुसार घाटमा लगेर जलाउने वा पाखामा गाड्नेगरी स्थान निर्धारण गरिएको छ ।’