खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पालिकाभित्र हुने कुनैपनि सामाजिक कार्य औपचारिकतामा मात्र सिमित राख्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) बढ्दो संक्रमणलाई मध्यनजर गर्दै गाउँपालिकाले बाहिरी जमघटमा हुने नाचगान, भोजभतेर, विवाह, व्रतवन्ध, देवाली, साकेला चाड (उभौली) जस्ता कार्यहरुले थप संकट आउन सक्ने भएकाले घरभित्रै औपचारिकतामा सिमित राख्न आग्रह गरेको हो ।
गाउँपालिका अध्यक्ष तथा कोभिड संक्रमण तथा नियन्त्रण कार्य दलका संयोजक भुपेन्द्र राईको संयोजकत्वमा आइतबार गाउँपालिकामा बसेको कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलको वैठकले बढ्दो संक्रमणका कारण पालिकाभित्रका विभिन्नहरुको जातिय संस्कारसंस्कृति, चाडपर्व, भोजभतेर, विवाह व्रतवन्ध, कुलपूजाहरु सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्डका उपायहरु अवलम्वन गरी आफ्नै घरभित्र मनाउने निर्णय गरेको छ ।