सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नव नियुक्त आन्तरिक मामिला कानुन र युवा तथा खेलकुद मन्त्रीमा सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मालाई सोमबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख गोविन्द कलौनीले सपथ ग्रहण गराएका हुन्।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरु नेपाली र शर्मालाई आइतबार बेलुकी मन्त्री नियुक्तका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए।
शाहीले तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई पदबाट राजीनामा दिन लगाएर वैशाख २९ गते माओवादी केन्द्रका तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका थिए।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस एक महिना बितिसक्दा पनि सरकारमा सहभागी भएको छैन । कांग्रेसले दुई मन्त्रालयसहित सरकारमा सहभागिता जनाउने भएपनि आन्तरिक विवादका कारणले मन्त्री बन्नेको नाम टुंग्याउन सकेको छैन ।
मुख्यमन्त्री शाहीले जलस्रोत तथा उर्जा मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफैले राखेका छन्।