अर्जुनधारा । कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बीएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
लामो उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उपचारकै क्रममा बीएन्डसी हस्पिटलमा आज सोमबार २ः३० बजे निधन भएको हस्पिटलका सूचना अधिकृत प्रमेश गिरीले जानकारी दिए । उनलाई वैशाख १७ गते थप उपचारका लागि बीएन्डसीमा भर्ना गरिएको थियो ।
संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा तथा २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखिएको थियो । स्थानीय प्रशासन क्षेत्रका अब्बल व्यक्तिका रुपमा परिचित खाम्याहाङ इलाम नगरपालिका, मेचीनगर हु्ँदै अर्जुनधारा आएका थिए । ५५ वर्षीय खाम्यहाङका छोरा, छोरी र श्रीमती छन् ।
कार्यालयको कामबाट काठमाण्डौ पुगेर फर्किएपछि उनमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय प्रशासनिक क्षेत्रमा २९ वर्ष काम गरिसकेका खाम्याहाङ स्थायी घर संखुवासभा रहेको उनका आफन्तले बताए ।