खोटाङ । कोभिड–१९ को संक्रमण दर तिव्र गतिमा फैलिरहेको सन्दर्भमा खोटाङको केपिलासगढी गाउँपालिकाले १५ दिनका लागि गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकको निर्णयले सोमबारदेखि गाउँपालिका तथा ७ वडाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सेवा १५ दिनका लागि बन्द गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले जारी गरेको सूचनामा जोखिमको समयमा उपलव्ध स्वास्थ्य पूर्वाधार, जनशक्ति, कोभिडबाट बच्न अत्यावश्यक मेडिकल सामग्री जस्ता आधारभुत सेवाको उपलव्धता नभएको, भौगोलिक विकटता, संक्रमितलाई तत्काल उद्धार गर्नका लागि सडकको सहज पहुँच नभएको तथा देशकै समग्र स्थितिलाई मध्यनजर गर्दै ‘संक्रमण हुनुभन्दा संक्रमण हुन नदिनु बद्धिमानि’ ठहर गरिएको उल्लेख छ ।
गत बैशाख २७ गतेदेखि गाउँपालिकाको केन्द्र बाक्सिलाबजारमा हाट लाग्ने हरेक बुधबारका दिन गाउँपालिका भित्रका स्वास्थ्य संस्था बाहेकका कार्यालय तथा सम्पूर्ण पसल पूर्णरुपमा बन्द गराउँदै आएको गाउँपालिकाले १५ दिनका लागि भने सबै दिन अत्यावस्यक बाहेकका सेवा ठप्प बनाएको हो ।
केपिलासगढी गाउँपालिकाले पालिका प्रवेशका लागि ७२ घण्टाभित्रको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने, बुधबार बाहेकका अन्य बार दैनिक बिहान ७ बजेदेखि १२ बजेसम्म मात्र पसल खोल्ने, पसल खोल्दा पसलको एउटा ढोका मात्र खुला गर्ने, पसल बाहिर वा पेटीमा सामान नफिजाउँने, यातायात व्यवसायीले गाउँपालिका बाहिरबाट आएका सवारी साधन तथा यात्रुको विवरण गाउँपालिकालाई नियमित उपलव्ध गराउनुपर्ने, गाउँपालिकाभित्र साप्ताहिकरुपमा लाग्ने हटियाहरु बन्द गर्ने लगायतका स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको गाउँपालिकाले जनाएको छ ।