• ट्रेण्डिङ:

दुवै मृगौला फेल भएपछि ज्यान जोगाइ दिन १८ वर्षीय रामप्रसादद्वारा सहयोगको याचना

दुवै मृगौला फेल भएपछि ज्यान जोगाइ दिन १८ वर्षीय रामप्रसादद्वारा सहयोगको याचना

रोदिक खबर

५, जेठ २०७८
  • 5.8K
    SHARES
  • दुवै मृगौला फेल भएपछि ज्यान जोगाइ दिन १८ वर्षीय रामप्रसादद्वारा सहयोगको याचना

    बाजुरा । दुवै मृगौला फेल भएका बाजुराका एक युवकले उपचारमा सहयोग गरेर आफ्नो ज्यान जोगाइ दिन याचना गरेका छन् । आर्थिक अभावले थप उपचार गर्न समस्या भएपछि मृगौला रोगबाट पीडित बाजुराको बुढीगंगा नगरपालिका–२ ब्रह्मतोलाका १८ वर्षीय रामप्रसाद जैसी र उनका आफन्तले सहयोगको याचना गरेका हुन् । 

    विगत आठ वर्षदेखि मृगौला रोगबाट पीडित उनी दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका छन् । गरिबीका कारण परिवारले थप उपचार गराउन सक्ने अवस्था नभएपछि जैसी अस्पतालको शैंयामा जीवन र मरणको दोसाँधमा छन् ।

    उनका बुवा छैनन् । परिवारको एक्लो छोरा उनका तीन दिदीबहिनीकोमध्ये दुई जनाको विवाह भइसकेको छ । आमाले उपचार गराउन सक्ने अवस्था नभएपछि उनका भिनाजु पदमराज रेग्मीले उपचार गराउँदै आएका छन् । मृगौला प्रत्यारोपणमा धेरै खर्च लाग्ने भएकाले आफूले पनि व्यहोर्न सक्ने अवस्था नरहेको पदमराजले बताए ।

    पीडितको परिवारका अनुसार चिकित्सकले उनको नयाँ जीवनका लागि मृगौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका छन् । मृगौला प्रत्यारोपणका लागि १०–१२ लाखभन्दा बढी रकम लाग्ने बुझिएको आफन्तले बताएका छन् ।

    ‘अहिलेसम्म सक्दो उपचार गराइरहेको थिएँ, मृगौला प्रत्यारोपणका लागि लाग्ने त्यति धेरै रकम म पनि जुटाउन सक्दिन ।’ पदमराजले भने, ‘मृगौला फेर्न सके उसले नयाँ जीवन पाउथ्यो ।’ मृगौला प्रत्यारोपणका लागि लाग्ने खर्च व्यहोर्न सक्ने अवस्था नरहेकाले जीवन रक्षाका लागि सहयोगको याचना गर्नुको विकल्प नभएको उनले बताए ।

    चिकित्सकले मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेपछि जैसीका आफन्त पैसाको खोजीमा भौतारिरहेका छन् । डाक्टरले स्वास्थ्यमा थप जटिलता आउन नदिन जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएको पीडितका आफन्तको भनाइ छ । आमाले उपचार गर्न सक्ने अवस्था नभएपछि उनका भिनाजु पदमराज र आफन्तले उपचारमा सहयोग गर्दै आएका थिए ।

    यसअघि भारतको बरेली लगायत विभिन्न ठाउँका अस्पतालमा उनको उपचार गरिएको थियो । सहयोग गर्न इच्छुक व्यक्ति वा संघ संस्थाले रामप्रसादका भिनाजु पदमराज रेग्मीको मोबाइल नम्बर ९८६९६१३७६५ मा सम्पर्क गर्न वा उनकी दिदी कृष्णाकुमारी जैसीको नाममा सिद्धार्थ बैंक लिमिटेड ठिमी भक्तपुर शाखामा रहेको खाता नम्बर ०१७१५४१४३५० मा रकम जम्मा गर्न सक्ने छन् ।

    प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - १८:०२:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको