खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण सुरु गरिएको छ । मासिक करिब ५ देखि ६ लाख राजस्व संकलन गर्ने श्रोतका रुपमा विकास गर्नेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण सुरु गरिएको हो ।
तल्लो तलामा २३ वटा सटर र माथिल्लो तलामा २३ वटा सटर हुने दुई तले सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले शिलान्यास गरेका छन् ।
आगामी २०७९ साल फागुन मसान्तसम्ममा ३ करोड ९६ लाखमा पूरा गर्नेगरी निर्माण कम्पनी उमा–लामा–अनशुवी जेभीले सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणको ठेक्का लिएको छ । सो योजनामा मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ३९ लाख खर्च हुने सम्झौतामा उल्लेख छ ।
सपिङ कम्प्लेक्सको तल्लो तलको सटरमा कोसेली घर, नगरपालिकाको तरकारी, कृषि उपज संकलन केन्द्र लगायतका स्टल राखेर अन्य कोठा व्यवसायीक प्रयोजनकै लागि भाडामा लगाउने नगरको योजना छ । यस्तै, माथिल्लो तलाको सटरमा मःम, कफीसप, रेष्टुरेन्ट जस्ता स्टल रहने नगरप्रमुख रिजालले बताए ।
‘तल्लो तलाको सटरलाई विभिन्न व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्ने छौँ । माथिल्लो तलाको सटरमा मःम, कफीसप, रेष्टुरेन्ट जस्ता व्यवसाय सञ्चालन हुनेछ । एउटै छानामुनि नुनदेखि सुनसम्म उपलव्ध गराउने हाम्रो लक्ष्य हो,’ नगरप्रमुख रिजालले भने ‘सपिङ कम्प्लेक्सको बिच भागमा भने केटाकेटी खेल्ने स्वीमिङ पुल, पिङ लगायतका संरचना सहितको आकर्षक पार्क निर्माण गर्ने डिजाईन गरिएको छ ।’
भाडावापत मासिक ५ देखि ६ लाख राजस्व संकलन गर्ने दिगो माध्यमको रुपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कलाई विकास गर्ने नगरपालिकाको लक्ष्य छ । सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणका लागि हालको प्रहरी बुथ लगायतका संरचना हटाउने तयारी छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको २०७७ साल भदौ २ गतेको सूचनामार्फत माग भएको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रीस्तरको माघ २९ गतेको निर्णय अनुसार साझेदारी आयोजनाकारुपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क छनौट भएको हो ।