• ट्रेण्डिङ:

खोटाङका एक दर्जनमा आठ एम्बूलेन्स मात्र चालु अवस्थामा 

खोटाङका एक दर्जनमा आठ एम्बूलेन्स मात्र चालु अवस्थामा 

रोदिक खबर

६, जेठ २०७८
  • 3.3K
    SHARES
  • खोटाङका एक दर्जनमा आठ एम्बूलेन्स मात्र चालु अवस्थामा 

    खोटाङ । कोभिड–१९ को महामारीका बेला खोटाङका एक दर्जन एम्बूलेन्समध्ये ८ वटा एम्बूलेन्स मात्र चालु अवस्थामा रहेको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालनमा रहेका ५ वटा एम्बूलेन्समध्ये हाल २ वटा एम्बूलेन्स चालु अवस्थामा छ ।

    खोटाङ समाज यूकेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित स्वास्थ्यचौकीलाई प्रदान गरेको एक वटा र स्वास्थ्य मन्त्रालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङलाई प्रदान गरेको एक वटा एम्बूलेन्स चालु अवस्थामा रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । 

    यस्तै, २०७३ सालमा खोटाङ सेवा समाज यूकेले ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकालाई प्रदान गरेको १÷१ वटा एम्बूलेन्स हाल चालु अवस्थामा रहेको सम्वन्धित पालिकाले जनाएको छ । यस्तै, स्वदेश तथा बिदेशमा रहेका युवा र रावाबेँसी गाउँपालिकाको संयुक्त लगानीमा खरिद गरिएको १ वटा एम्बूलेन्स चालु अवस्थामा रहेको कार्यालयले जनाएको छ । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रै सञ्चालनमा रहेको नेपाल रेडक्रस सोसाइटीको स १ च १३३५ नम्बरको एम्बूलेन्स, भारतीय वेलफेयरको स १ च १२८२ नम्बरको एम्बूलेन्स र खोटाङ समाज यूकेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित स्वास्थ्य चौकीलाई दिएको एम्बूलेन्स भने हाल चालु अवस्थामा नभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।

    जापान सरकारले प्रदान गरेको रेडक्रसको एम्बूलेन्स हाल बिग्रिएर थन्किएको अवस्थामा छ । स्वास्थ्यचौकी निर्मलीडाँडाको एम्बूलेन्स भने बिरामी लिएर बिराटनगर जानेक्रममा २०७६ साल असोज २ गते राती सप्तरीमा भएको दुर्घट्नामा क्षतीग्रस्त बनेको थियो । भारतीय वेलफेयरको एम्बूलेन्स मर्मतपछि केही दिनपछि पुःन सञ्चालनमा आउने जनाइएको छ । 

    भारतीय दुतावासले हलेसी तुवाचुङ नगरपालिकालाई प्रदान गरेको एम्बूलेन्स पनि हाल बिग्रिएर थन्किएको छ । महामारीकाबेला नगरप्रमुख/उपप्रमुखले उपयोग गर्दैआएको गाडी र अन्य भाडाको दुई वटा गाडीलाई एम्बूलेन्सको विकल्पको रुपमा प्रयोग गर्नेगरी तयारी अवस्थामा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।

    जिल्लाका १० स्थानीय तहमध्ये हालसम्म बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिका एम्बूलेन्स विहिन छ । बराहपोखरी गाउँपालिकाले भने १२ लाखमा एम्बूलेन्स गरिद गरेर ल्याउने प्रकृयामा रहेको जनाएको छ । गाउँसभामार्फत निर्णय गरेर खरिद गरिएको एम्बूलेन्स तराईमा आएर अड्किएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।

    यस्तै, हालसम्म खोटाङ समाज यूकेले उपलव्ध गराएको एम्बूलेन्स मर्मत गर्दै चलाइरहेको ऐसेलुखर्क गाउँपालिकाले पनि करिब १० लाखमा एम्बूलेन्स खरिद गरिसकेको छ । खरिद गरिएको एम्बूलेन्स बीरगञ्जमा रोकिएर बसेको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । 

    अस्पताल जानका लागि हेलीकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा ज्यान गुमाउनु पर्ने समस्या अन्त्यको प्रयास स्वरुप खोटाङ सेवा समाज यूकेले २०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ ७ वटा एम्बूलेन्स हस्तान्तरण गरेको थियो । यस्तै, खोटाङ एकता सेवा समाजमार्फत सञ्चालन हुनेगरी खोटाङ सेवा समाज दोहा कतारले एक वटा एम्बूलेन्स जिल्ला भित्र्याएको थियो । 

    यस्तै, स्वदेश तथा बिदेशमा रहेका रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवा र रावाबेँसी गाउँपालिकाको संयुक्त लगानीमा खरिद गरिएको १ वटा एम्बूलेन्स चालु अवस्थामा रहेको कार्यालयले जनाएको छ । यस्तै, दुतावास तथा विभिन्न दाताबाट प्राप्त भएको एम्बूलेन्स जिल्लामा भित्रिएका छन् । 

    प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १३:५५:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको