खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका ३४ जनाका पिसिआर परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्रायक ट्रेसिङमा परेका, जोखिम क्षेत्रबाट आएका र लक्षण देखिएका ३४ जनाका पिसिआर परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरुको जेठ २ गते स्वाव संकलन गरी पिसिआर परीक्षण पठाइएकोमा बिहीबार आएको रिपोर्टमा ३२ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले बताए । हालसम्म जिल्लामा १ जना संक्रमितको मृत्यु हुँदा १७ जना संक्रमितले कोभिड–१९ लाई जितिसकेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या २५९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८६ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४३ जना, ऐसेलुखर्क गाउँपालिकामा ४० जना, जन्तेढुंगा गाउँपालिकामा २६ जना, रावाबेँसी गाउँपालिकामा २० जना, साकेला गाउँपालिकामा १६ जना, खोटेहाङ गाउँपालिकामा १२ जना, केपिलासगढी गाउँपालिकामा १० जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना सक्रिय संक्रमित छन् ।
सक्रिय संक्रमितमध्ये २३६ जना होमआइसोलेसनमा, १५ जना संस्थागत आइसोलेसनमा र ८ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामिछानेले बताए ।