• ट्रेण्डिङ:

राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव घोषणा

राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव घोषणा

रोदिक खबर

८, जेठ २०७८
  • 2.2K
    SHARES
  • राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव घोषणा

    काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । शुक्रबार मध्यरातमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटनसँगै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा समेत गरेकी हुन्‌।

    मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

    धारा ७६(७) मा भनिएको छ, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महीनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।

    सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेकाे दाबी पूर्ण नभएको भन्दै राष्ट्रपति भण्डारीले खारेज गरेपछि मन्त्रिपरिषद् बैठक बसेको थियो।

    देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए भने ओलीले  एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए ।

    तर दुवैको समर्थनकर्ता भनिएका सांसदहरु एकअर्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखेर आएको भन्दै राष्ट्रपतिले दुवैको दाबी नपुग्ने निर्णय गरेकी थिइन् ।

    सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो। यो पटक भने बहुमतको सरकारका लागि गरिएको दाबी पूर्ण नभएपछि संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधि सभा स्वत: विघटन हुने व्यवस्था अनुसार विघटन गरिएको हो।

    n.jpg

    प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - ०७:१४:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको