खोटाङ । कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा थप हप्ता दिनका लागि बन्द गरेको छ ।
शुक्रबार बसेको गाउँपालिका र विपद व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि पुःन शनिबारदेखि लागू हुनेगरी आगामी जेठ १४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसबाट ‘आफु बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारालाई मध्यनजर गर्दै केही समयका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको गाउँपालिकाले संक्रमण दर तिव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने अवधि लम्व्याएको हो ।
प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जारी गरेको सूचनामा स्वास्थ्य संस्था बाहेक सरकारी तथा गैर–सरकारी कार्यालय, विद्यालय, व्यपार व्यवसाय, होटल, बैंक तथा वित्तीय संस्था लगायत बन्द गर्ने, जमघट र भेला हुने सम्पूर्ण कार्यहरु स्थगित गर्ने, ऐसेलुखर्कबाट चल्ने सम्पूर्ण यातायातका सवारी साधनको आवागमनमा रोक लगाइएको उल्लेख छ ।
खोटेहाङ गाउँपालिकाले स्वास्थ्य संस्था बाहेकका सरकारी तथा गैर–सरकारी कार्यालयको सेवा प्रवाह बन्दका कार्यक्रमलाई लम्व्याएको छ ।
कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै जेठ ७ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको गाउँपालिकाले शनिबारेखि लागू हुनेगरी आगामी जेठ २० गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्दका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।
गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले आगामी जेठ २० गतेसम्म गाउँपालिकाभित्रका औषधि पसल बाहेकका सम्पूर्ण पसल, संघसंस्था, शैक्षिक संस्था, होटल व्यवसाय, रेष्टुराँ, गेष्टहाउस बन्द गर्ने, हाटबजार, मेला, सामाजिक तथा साँस्कृतिक पर्व, भोजभतेर, पुजाआजा, विवाह, ब्रतबन्ध, पास्नी लगायतका भिडभाड हुने प्रकृतिका सबै प्रकारका क्रियाकलाप बन्द गर्ने/गराउने निर्णय गरेको छ ।
यस्तै, निर्माण सामग्री, खाद्यान्न तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी सञ्चालन गर्ने, अत्यावश्यक बाहेकका अवस्थामा सबै प्रकारका सवारी साधन बन्द गर्ने निर्णय गरिएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदिप राईले बताए ।
सो गाउँपालिकाले वडा–वडामा रहेका विपद व्यवस्थापन समितिलाई सक्रिय बनाएर कोभिड–१९ विरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, गाउँ भित्रिएका व्यक्तिको रेकर्ड, उनीहरुको स्वास्थ्य अवस्था लगायतका बारेमा बुझेर गाउँपालिकालाई सूचना उपलव्ध गराउने, विकास निर्माण कार्य, बाह्य हिँडडुल तथा आवतजावत कार्य बन्द गर्ने, अत्यावश्यक अवस्थामा घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्क, पञ्जा, सेनिटाइजर तथा सावुन पानी जस्ता स्वास्थ्य सुरक्षाका उपाय अवलम्वन गर्ने/गराउने निर्णय गरेको छ ।