खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले पत्रकारको हितमा आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ । आइतबार बसेको महासंघको बैठकले विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ १० लाखको बराबरको कोष बनाउने लक्ष्यका साथ आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय गरेको हो ।
पत्रकार महासंघको साधारण सदस्य रहेर पत्रकारिताका क्षेत्रमा क्रियाशील रहेको अवस्थामा कुनै दुर्घटनामा गम्भीर भई अस्पताल लैजानु परेमा, अंगभंग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण निजको मृत्यु भएमा, बाढीपहिरोले घरमा क्षति पुगेमा आर्थिक सहयोग गर्नेगरी कोष स्थापना गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष दिलीप खत्रीले बताए ।
पत्रकार आपतकालीन सहायता कोष स्थापनाका लागि सञ्चार उद्यमी, निजी क्षेत्र, सामाजिक व्यक्तित्व, निर्माण व्यवसायी र स्थानीय सरकारसँग सहयोगको अपिल गरिने महासंघले जनाएको छ । बैठकले कोष स्थापना गर्ने अभियानका लागि महासंघका अध्यक्ष खत्री र सहसचिव चिसाङ शेर्पालाई जिम्मेवारी दिएको छ ।
आपतकालीन उद्धार, उपचार तथा राहतका लागि आपतकालीन सहायता कोष स्थापनाको अवधारणा अघि सारिएको महासंघका अध्यक्ष खत्रीले बताए ।
‘दुर्घटनामा परेका, घाईते भएका, गम्भीर प्रकृतिका बिरामी परेका, मृत्यु भएका पत्रकारको सहयोगार्थ आपतकालीन सहायता कोषको अवधारणा अघि सारिएको हो,’ अध्यक्ष खत्रीले भने, ‘संकटमा परेको अवस्थामा महासंघका तर्फबाट थोरै भएपनि सहयोग गर्ने र राहतको महसुस गराउन प्रयास थालिएको हो ।’
महासंघले जिल्लाका संक्रमित पत्रकारको स्वास्थ्य लाभको कामना गर्दै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर रिपोर्टिङ गर्न पत्रकारलाई आग्रह गरेको छ ।