खोटाङ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालय खोटाङमा नौ लाखभन्दा बढीको स्वास्थ्य सामग्री ल्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत ९ लाख ७ हजार ६६० रुपैयाँ बराबरको अक्सिजन सिलिण्डर, भिटिएम, एन्टीजेन किट, पिपिइ गाउन लगायतका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमा आइपुगेको हो ।
मन्त्रालयबाट २ लाख २६ हजार ९६९ रुपैयाँ बराबरको ४ सय थान पिपिइ गाउन, ४ सय थान एन ९५ मास्क, २० लिटर सेनिटाइजर र ४ हजार थान सर्जिकल मास्क ल्याइएको छ ।
यस्तै, स्वास्थ्य कार्यालयमा ४ लाख ९३ हजार ७५२ रुपैयाँ मूल्यको १ हजार सेट एन्टीजेट किट, १ लाख ६९ हजार ७६३ मूल्यको ४० लिटरको १५ पिस अक्सिजन सिलिण्डर र १७ हजार १७६ मूल्य पर्ने २ सय पिस भिटिएम आइपुगेको छ ।
गत बैशाख ३० गते काठ्माण्डौंबाट ३ लाख ९९ हजार ८३३ मूल्यको स्वास्थ्य सामग्री लिएर आएका प्रतिनिधिसभा सदस्य भट्टराईले पुःन ल्याएको स्वास्थ्य सामग्री मंगलबार स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य कार्यालयको माग र प्रतिनिधिसभा सदस्य भट्टराईको पहलमा कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने थप स्वास्थ्य सामग्री आएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।
एमालेका पूर्व प्रमुख सचेतक रहेका प्रतिनिधिसभा सदस्य भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई, एमाले नेता कुमार आचार्य, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, गोरखनाथ गणका गणपति नरोत्तम पौडेल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरिया, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायव उपरिक्षक सरोज कार्की, जिल्ला अस्पताल खोटाङका प्रमुख डा. बैभव मल्लिक, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, समाजसेवी तथा युवा व्यवसायी रविन्द्र ओझा, अनेम संघकी केन्द्रीय सदस्य निर्मला थापा, एमालेका जिल्ला सदस्य राजन बञ्जरा लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य भट्टराईले जिल्लामा कोभिड–१९ को महामारीमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता जनाए ।
भट्टराईले अक्सिजन जुटाउन भने मुस्किल परेको बताए । कोरोना कहरको समयमा पछिल्लो समय व्यक्तिगत र संस्थागतरुपमा स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री उपलव्ध गराएर हातेमालो गर्ने बढ्न थालेका छन् ।