• ट्रेण्डिङ:

रावाबेँसी गाउँपालिका थप हप्ता दिनका लागि सिल

रावाबेँसी गाउँपालिका थप हप्ता दिनका लागि सिल

रोदिक खबर

११, जेठ २०७८
  • 6.0K
    SHARES
  • रावाबेँसी गाउँपालिका थप हप्ता दिनका लागि सिल

    खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाको सीमा नाका थप हप्ता दिनका लागि सिल गरिएको छ । कोभिड–१९ को संक्रमण दर दिनानुदिन बढिरहेको सन्दर्भमा सोमबार बसेको गाउँपालिकाको निर्णय अनुसार मंगलबारदेखि आगामी जेठ १७ गतेसम्मका लागि पालिका प्रवेश गर्ने सिमा नाका सिल गरिएको हो ।

    संक्रमित फेला परे लगत्तै बैशाख अन्तिम सातादेखि सीमा नाका सिल गरेको गाउँपालिकाले संक्रमणको दर बढिरहेको भन्दै सिल अवधि लम्व्याएको हो । स्थानीय कोरोना विपद व्यवस्थापन केन्द्रको गत बैसाख २६ गतेको बैठकको निर्णय अनुसार गाउँपालिकाको सिमा नाका हालसम्म सिल गरिएको अवस्था छ ।

    गाउँपालिकाले जेठ १७ गतेसम्मका लागि गाउँपालिका र वडा कार्यालयको अति जरुरी र आकस्मिक कार्य बाहेक सम्पूर्ण कार्यहरु बन्द गर्ने, स्वास्थ्यको आकस्मिक सेवा बाहेकका कार्य बन्द गर्ने, निर्माण सामग्री, खद्यान्न, इन्धन, स्वास्थ्य सामग्रीजस्ता सामग्री ढुवानी गर्ने बाहेकका गाडीहरुको लागि आवतजावत पूर्णरुपमा बन्द गराएको जानकारी दिएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले सोमबार जारी गरेको सूचनामा गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय जेठ १७ गतेसम्मका लागि पूर्णरुपमा बन्द गर्ने, कार्यालयको काम गर्ने कर्मचारीले परामर्श गरेर आवत जावत गर्नुपर्ने, खाद्यान्न र इन्धन पसल दैनिक बिहान ८ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म खुला गर्न दिने, चोक र चौतारामा भेला भएर गर्ने कुनै पनि कार्य नगर्ने/नगराउने, नियमित सञ्चालन भइरहेका योजनाको हकमा भौतिक दुरी तथा स्वास्थ्यका मापदण्ड पुरा गरी सञ्चालन गर्ने/गराउने उल्लेख छ ।

    कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले आवश्यकताका आधारमा सिल अवधि थप गर्दै लगिएको जनाएको छ । यस अवधिमा पालिकाभन्दा बाहिरबाट अत्यवश्यक कामका लागि आउने नागरिकले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । रातको समय पारेर गाडी हिँडाएको पाइएमा रोकथामका लागि सुरक्षाकर्मीलाई अनुरोध गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

    यस्तै, जनप्रतिनिधि, कर्मचारी, शिक्षक र स्वयंसेवकलाई कोभिड–१९ विरुद्धको जनचेतनामुलक क्रियाकलाप सञ्चालनमा परिचालन गर्ने, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि तयारी अवस्थामा राख्ने, पालिकाभित्र सकेसम्म कम उपस्थितिमा विवाह, देवाली, पुराण, ब्रतबन्ध, साकेला मनाउन, कोभिड अस्पलाल, क्वारेन्टिन तथा आइसोलेसनमा राखिने संक्रमितको सुरक्षाको जिम्मा नजिकको प्रहरीचौकीलाई दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - १६:२६:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको