खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाले समुहमा भेला भएर सामाजिक तथा साँस्कृतिक कार्य गर्न रोक लगाएको छ । पछिल्लो समय जमघटमा गरिने विवाह, ब्रतबन्ध जस्ता सामाजिक तथा साँस्कृतिक कार्यका कारण कोभिड–१९ को संक्रमण फैलिरहेको पाइएपछि गाउँपालिकाले भेला भएर कुलपूजा देवाली, साकेला लगायतका चाडपर्व मनाउनमा कडाई गरेको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को जेठ ११ गतेको निर्णय अनुसार गाउँपालिकाले मनाउनै पर्ने खालका चाडपर्वलाई परिवारभित्रका सदस्य मात्रको सहभागीतामा विधि फुकाउने व्यवस्था गर्न आग्रह गरेको छ ।
यस्तै, स्वास्थ्य सुरक्षाका मापण्ड अनिवार्य रुपमा पालना गरी विकास निर्माण सम्वन्धी कार्यहरु सञ्चालन गर्ने/गराउने, सो को अनुगमन स्थानीय तहले गर्ने, कोही कसैले उक्त निर्णयको बर्खिलाफ गरेमा संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानून बमोजिम कारबाही गर्ने समेत निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जारी गरेको सूचनामा उल्लेख छ ।
गत बैसाख २१ गते बसेको गाउँकार्यपालिकाको बैठकले पनि पालिकाभित्र सभा, सम्मेलन, गोष्ठी, सेमीनार, उद्घाटन, चियापान, राजनैतिक दलका कार्यक्रम, मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च, विवाह, ब्रतबन्ध लगायतका भिडभाड हुने कार्यक्रममा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार हालसम्म गाउँपालिका र सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा अर्को व्यवस्था नभएसम्मका लागि स्थगित छ । यस्तै, गाउँपालिकाभित्रका उपभोग्य पसल दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । हाल गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय तहका पठन–पाठन र निर्धारित परीक्षा समेत स्थगित छ ।