जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका एक युवकको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का २६ वर्षीय फूर्वासिंह तामाङको शनिबार बिहान मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिहान १ बजेतिर उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको कारागारका जेलर सुवास लामिछाने बताए । ‘अस्पताल लैजाँदा चिकित्सकले कोरोनाको आशंकामा तत्काल उपचार गर्न मान्नुभएन, हामीले फोन गरेपछि उपचार सुरु भएको थियो,’ उनले भने, ‘बिहान मृत्यु भयो ।’
परिवारका सदस्यले घटना शंकास्पद भन्दै पोष्टमार्टम गर्नुपर्ने बताएका छन् । आफन्तको इच्छा अनुसार शव पोष्टमार्टम गरिने उनले बताए । पोष्टमार्टम रिपोर्टमा शंकास्पद देखिए थप छानविन हुने उनले बताए । तामाङ चोरी मुद्दामा २०७६ साल फागुन २२ गते जिल्ला अदालत मोरङको आदेशबाट पूर्पक्षका लागि थुनामा थिए ।
बुधबार कारागारमै कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय निराजन यादवको पनि मृत्यु भएको थियो ।