फाइल तस्विर
खोटाङ : खोटाङमा सखुवाको चिरानी काठ सहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीबाट अवैधरुपमा सखुवाको ३५.७५ क्यूबिकफिट काठ बोकेर खोटेहाङ गाउँपालिकातर्फ जाँदै गरेको को २ त ५२१३ नम्बरको ट्याक्टर सहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुई नावालक सहित सात जनालाई प्रहरीचौकी बराहपोखरीका प्रहरीको टोलीले मंगलबार काठ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले बताए ।
प्रहरीले विनापूर्जी काठ ढुवानी गरिरहेका ट्याक्टरका चालक खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका २३ वर्षीय सुवाश श्रेष्ठ, काठ लैजाने सोही स्थानका २० वर्षीय धिरज ताम्राकार, ३० वर्षीय सुजन श्रेष्ठ, ३३ वर्षीय सञ्जिव श्रेष्ठ र बरापोखरीका २५ वर्षीय गोबिन्द राउतलाई नियन्त्रणमा लिएको हो ।
दुई जना नावालकको नाम भने प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका सात जनालाई काठ र ट्याक्टर सहित मंगलवार साँझ नै डिभिजन वन कार्यालय खोटाङलाई बुझाइएको प्रवक्ता एवं प्रहरी निरिक्षक गजमेरले बताए ।
बराहपोखरीस्थित डाँडाखर्क सामुदायीक वन क्षेत्रबाट प्रकृया पुरा नगरी सखुवाको काठ निकासी गरिरहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले भने निजी खरबारीको काठ निकासी गरेको दावी गरेको बराहपोखरीका वडाध्यक्ष टंक मगरले बताए ।