खोटाङ । खोटाङका नेबिसंघका नेता गणेश खड्काले दुई संक्रमित परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । नेविसंघ खोटेहाङ गाउँपालिका अध्यक्ष खड्काले दैनिक ज्यालादारीको काम गरेर परिवार धान्दै आएको अवस्थामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्न बाध्य संक्रमित परिवारलाई व्यक्तिगत खर्चमा चामल, दाल, नुन र तेल प्रदान गरेका हुन् ।
नेविसंघका नेता खड्काले खोटेहाङ गाउँपालिका–८ सिमपानीका कोरोना संक्रमित खड्गबहादुर श्रेष्ठ र मक्कर थामीको परिवारलाई राहत स्वरुप १/१ बोरा चामल,२/२ केजी दाल, २/२ प्याकेट तेल र २/२ प्याकेट नुन प्रदान गरेका हुन् ।
दुबै परिवारका श्रीमान श्रीमतीलाई संक्रमण पुष्टि भएपछि ज्यालादारी कामका लागि घर बाहिर निस्कन नपाउँदा चुल्हो बल्न छाडेको र भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेकाले राहत प्रदान गरेको नेविसंघ खोटेहाङ गाउँपालिका अध्यक्ष खड्काले बताए ।
खड्का राहत वितरणका लागि काँधमा खाद्यान्न बोकेर संक्रमितको घरमा पुगेका थिए । संक्रमितलाई राहत दिँदै खड्काले नआत्तिन घरभित्रै बसेर कोरोना जित्नका लागि सुझाव दिएका छन् ।
थप सहयोगको आवश्यकता परे सहयोग गर्ने खड्काले प्रतिवद्धता जनाएका छन् । दैनिक ज्यालादारी गरेर जीविको चलाउँदै आएका परिवारमा संक्रमण हुँदा जिल्लाका दर्जनौं परिवारको अवस्था दयनीय बनेको छ ।