खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँकी कोभिड–१९ बाट संक्रमित महिला शुक्रबार अचानक बेहोस बनिन् । गत जेठ १० गते गरिएको एन्टीजेन परीक्षणमा संक्रमण पूष्टि भएपछि होमआइसोलेसनमा बसिरहेकी ४८ वर्षीय महिला बेहोस भएर ढलेपछि परिवारमा आपत आइलाग्यो ।
सहयोगका लागि आफन्तले गाउँपालिकालाई खबर गरे । केही छिनपछि बेहोस महिलालाई लिन गाउँपालिकाको बा २ झ ३८४९ नम्बरको गाडी आइपुग्यो । गाडीभित्र गाउँपालिकाको चालक थिएनन् । चालकका रुपमा थिए स्वयं गाउँपालिका अध्यक्ष भूपेन्द्र राई । सेतो पिपिई गाउन पहिरिएका गाउँपालिका अध्यक्ष राई गाडीबाट ओर्ले र बिरामीलाई गाडीमा राखेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित स्वास्थ्यचौकीस्थित अस्थायी कोभिड अस्पताल पुर्याए ।
हाल संक्रमित महिलाको अस्थायी कोभिड अस्पतालमै उपचार भइरहेको छ । उनको शरीरमा अक्सिजनको मात्रा कम भएको र प्रेसर लो भएपछि बेहोस भएको अस्थायी कोभिड अस्पतालमा पुर्याएपछि खुलेको छ ।
दुई घण्टा मात्र ढिला भएको भए महिलालाई बचाउन मुस्किल पर्ने अवस्था देखिएको स्वास्थ्यकर्मीले बताएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘अक्सिजनको मात्रा कम भएको रहेछ, त्यसमाथि प्रेसर लो भएपछि बेहोस भएर ढलेछ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘स्वास्थ्यकर्मीले दुई घण्टा मात्र ढिला भएको भए बचाउन सकिन्नथ्यो भनिरहेका छन् ।’
यस्तै, शनिबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाकी ७४ वर्षकी वृद्धालाई गाउँपालिका अध्यक्ष राईले नै अस्थायी कोभिड अस्पतालमा पुर्याएका छन् । गाउँपालिका अध्यक्ष राई आफैले गाडी चलाएर कोभिड अस्पतालमा पुर्याइएका वृद्धालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
उनको उपचार भइरहेको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाको गाडी चलाउनका लागि दुई जना चालक नियुक्त गरिएको छ । त्यसमध्ये एक जना चालकलाई कोभिड संक्रमण भएर बसिरहेका छन् । अर्का चालकलाई भने एम्बूलेन्स मर्मतमा पठाइएकाले आफैले गाडी चलाएर बिरामी उद्धारमा गएको अध्यक्ष राईले बताए ।
‘जनप्रतिनिधिले चढ्दैआएको गाडीलाई एम्बूलेन्स बनाए भन्ने खबर सुनियो । तर हामीले एम्बूलेन्स नबनाई बिरामी ओसार्नमा प्रयोग गरिरहेका छौँ,’ अध्यक्ष राईले भने, ‘एक जना चालक संक्रमित भए । अर्को चालक एम्बूलेन्स मर्मतमा गएको छ । चालक नभएपछि अहिले आफैले गाडी चलाइरहेको छु ।’
https://www.youtube.com/watch?v=potPRu4KIPg