खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले थप हप्ता दिनका लागि सरकारी तथा गैर–सरकारी कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ को महामारी फैलिन थालेपछि विगत केही हप्तादेखि अत्यावश्यक बाहेकका सेवा बन्द गराएको गाउँपालिकाले थप हप्ता दिनका लागि सरकारी तथा गैर–सरकारी कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने÷गराउने निर्णय गरेको हो ।
कोरोना भाइरसबाट ‘आफु बचौं र अरुलाई बचाऔं’ भन्ने नारालाई मध्यनजर गर्दै पुःन जेठ १५ गतेदेखि जेठ २१ गतेसम्मका लागि सरकारी तथा गैर–सरकारी कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले शुक्रबार सूचना जारी गर्दै जानकारी दिएकी छन् ।
यस अवधिमा गाउँपालिकाभित्रका सरकारी, गैर–सरकारी कार्यालय, विद्यालय, व्यापार/व्यवसाय, होटल, बैंक तथा वित्तीय संस्था लगायत जमघट र भेला हुने सम्पूर्ण कार्यहरु स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकाबाट चल्ने सम्पूर्ण यातायातका सवारी साधन आवागमनमा रोक लगाइएको छ । गाउँपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाको निर्णय कार्यान्वयन गरी सहयोग पु¥याउन हुन सरोकारवाला कार्यालय, संघसंस्था तथा नागरिक समाज सवैमा अनुरोध गरेको छ ।
यस्तै, जन्तेढुंगा गाउँपालिकाले पनि विहिवार राती १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि गाउँपालिका क्षेत्रभित्र रहेका बैंक, वित्तीय संस्था तथा सहकारी संस्था स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गर्दै हप्ताको मंगलवार र शुक्रबार विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्ने, गाउँपालिकाको बजारमा रहेका खाद्यान्न पसल स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै हप्ताको मंगलबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष शंखरबहादुर राईको अध्यक्षतामा बिहिबार बसेको बैठकले यस अवधिमा खाद्यान्न र औषधि बाहेकका अन्य पसल बन्द गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले आफ्नो क्षेत्रमा बिरामी बोक्ने एम्बूलेन्स, निर्माण सामग्री बोक्ने साधन बाहेक अन्य मोटरसाईकल, अटो रिक्सा लगायत सबै सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने, स्वास्थ्यकर्मी, कोरोना नियन्त्रणमा खटिने जनप्रतिनिधि, कर्मचारी, प्राध्यपक, शिक्षक सवार मोटरसाईकललाई अनुमति पत्र लिएको अवस्थामा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
यस्तै, गाउँपालिका क्षेत्रभित्र देवाली, साकेला, विवाह, ब्रतवन्ध, पास्नी जस्ता धार्मिक र साँस्कृतिक पर्व सञ्चालन नगर्ने/नगराउने, गाउँपालिका क्षेत्रभित्रका मठ, मन्दिर, गुम्बा तथा देवीथानमा नित्यपूजा बाहेक भिडभाडजन्य कार्य नगर्ने, बजार तथा ग्रामीण क्षेत्रमा समेत भिडभाड नगर्ने, भिडभाड, जमघट र भेला हुने कार्यक्रम तथा भलिबल, फुटवल लगायतका प्रतियोगीता नखेल्ने÷नखेलाउने निर्णय गरिएको जनाइएको छ ।
गाउँपालिकाले दैनिक कार्यहरु गर्दा सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र समय–समयमा सावुनपानीले हात धुन, सेनीटाइज गर्न, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता समस्या देखा परेमा नजिकको स्वास्थ्यचौकी तथा प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा सम्पर्क गर्न आग्रह गरेको छ ।