खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोभिड–१९ को संक्रमणबाट गम्भीर अवस्थामा पुगेका संक्रमितलाई अस्पताल लैजानका लागि निःशुल्क हेलीकोप्टर सेवाको व्यवस्था गर्न माग गरेका छन् ।
कोभिड–१९ को संक्रमणका कारण सिकिस्त अवस्थामा पुगेका संक्रमितले कम्तीमा साँढे तीन लाखमा हेलीकोप्टर चार्ट गर्न बाध्य भएको भन्दै नगरपालिकाले तत्काल अस्पताल पुर्याउनुपर्ने र भेन्टिलेटरमा राख्नपर्ने अवस्थाका संक्रमितलाई सुविधा सम्पन्न अस्पतालमा पुर्याउनका लागि सरकार समक्ष निःशुल्क हेलीकोप्टर सेवाको व्यवस्था गर्न माग गरेको हो ।
आइतबार प्रधानमन्त्रीलाई पत्र पठाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले जिल्लाबाट अन्यत्रका अस्पतालमा जानका लागि हेलीकोप्टर चार्टर शुल्क अत्याधिक महंगो भएकाले क्रिटिकल अवस्थाका बिरामीलाई निःशुल्क हेलीकोप्टरको व्यवस्था गरिदिन अनुरोध गरेका हुन् ।
गम्भीर अवस्थाका बिरामी बोक्नका लागि ‘नम्र्स’ बनाएर संघीय सरकार वा प्रदेश सरकारमार्फत निःशुल्क हेलीकोप्टर चार्टरको व्यवस्थाका लागि आग्रह गरिएको नगरप्रमुख रिजालले बताए ।
गत जेठ १५ गते मात्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७८ वर्षीय संक्रमित वृद्धालाई ३ लाख ५० हजारमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको छ ।
यस्तै, जेठ १० गते दिक्तेलका ६४ वर्षका पुरुषलाई ३ लाख ५० हजारमा र गत जेठ ५ गते ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका एकै परिवारका तीन संक्रमितलाई ३ लाख २० हजारमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको थियो । अन्य किसिमका रोग लागेका बिरामी वा घाईतेलाई काठ्माण्डौं लैजानेक्रममा पनि कम्तीमा २ लाखमा हेलीकोप्टर चार्टर गर्ने गरिएको छ । अस्पताल पुग्नका लागि हेलीकोप्टर चार्टर गर्ने आर्थिक अवस्था सवै संक्रमितको छैन ।
हेलीकोप्टर चार्टर गर्न नसक्ने अवस्थाका संक्रमित थप पीडामा छन् । पछि स्वास्थ्यमा जटिल समस्या आउने र हेलीकोप्टर चार्टर गर्नुपर्ने अवस्था आउने त्रासमा कतिपय संक्रमित धमाधम काठ्माण्डौं, बिराटनगर लगायतका अस्पतालमा जान थालेकाले भएकाले सरकार समक्ष निःशुल्क हेलीकोप्टर सेवाको माग गरिएको नगरप्रमुख रिजालले बताए ।
‘अहिले संक्रमितले हेलीकोप्टर चार्टर गर्नु पर्यो भने कम्तीमा साँढे तीन लाख शुल्क तिरिरहनु परेको छ । सबैको हेलीकोप्टर चार्टर गर्न सक्ने अवस्था छैन ।
पछि समस्या भइहाल्यो भने हेलीकोप्टर चार्टर गर्न सकिन्न, पैसा तिर्न सकिन्न, हाम्रो ज्यान जान्छ भनेर संक्रमितहरु पहिल्यै गाडीमार्फत काठ्माण्डौं र बिराटनगर गइरहेका छन्,’ नगरप्रमुख रिजालले भने, ‘त्यही भएर जिल्ला अस्पतालबाट रेफर भएकामध्ये क्रिटिकल अवस्थामा रहेका र तत्काल उद्धार गर्नुपर्ने कोभिड संक्रमित बिरामीको उद्धारका लागि निःशुल्क हेलीकोप्टरको व्यवस्थाका लागि आग्रह गरेका हौँ ।’
नगरपालिकाले गृह–मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नम्बर १ र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ लाई वोधार्थ दिइएको जनाएको छ ।
भविष्यमा स्वास्थ्यमा समस्या आउने र हेलीकोप्टर चार्टर गर्नुपर्ने त्रासमा नगरपालिकाका संक्रमित पहिल्यै अस्पताल पुग्न बाध्य छन् । हालसम्म ८ जना संक्रमितलाई नगरपालिकाकै गाडीमा हालेर अस्पतालमा पुर्याइएकामा तीन जना निको भएर फर्किसकेको नगरप्रमुख रिजालले बताए ।