खोटाङ । कोभिड–१९ को महामारी फैलिरहेका बेला खोटाङ सेवा समाज यूकेले खोटाङका लागि ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान थालेको छ । कोभिड–१९ को संक्रमण भएको अवस्थामा अक्सिजनको अभाव हुँदा कतिपय संक्रमितको अकालमा मृत्यु भएको खबर सार्वजनिक भइरहेको बेला खोटाङ सेवा समाज यूकेले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान थालेको हो ।
आफ्नो जन्म्भूमिमा बसिरहेका नागरिकलाई संक्रमणका कारण अकालमा ज्यान गुमाउनबाट बचाउने लक्ष्यका साथ खोटाङ सेवा समाज यूकेले प्राणघातक रोग कोभिड विरुद्ध प्रवासमै आफ्नो गाँस काटेर अभियान थालेका हुन् ।
कोरोना भाइरसबाट संक्रमित जिल्लाबासीको सहयोगार्थ स्वास्थ्य सामग्री पठाउनका लागि हाल यूकेमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन भइरहेको खोटाङ सेवा समाज यूकेका महासचिव भोलाविक्रम राईले बताए ।
‘नेपालमा कोरोना भाइरसको संक्रमण दर तिव्र गतिमा फैलिदा अस्पतालहरूमा अक्सिजनको संकट गहिरिँदै गएको, अक्सिजनको संकट गहिरिएपछि अस्पतालले थप बिरामीलाई सेवा दिन नसक्ने अवस्था आएको र अस्पताल भर्ना भएका कतिपय संक्रमितहरूले अक्सिजन नपाएर दिनानुदिन अल्पायुमै जीवन गुमाइरहेको खबरहरु बिभिन्न माध्यमबाट सार्वजनिक भइरहेका छन्,’ महासचिव राईले भने, ‘आफ्नो मातृभूमीमा आइपरेको संकटमा हामी मूकदर्शक बन्नु हुँदैन ।
यो संकटसँग जुध्न हाम्रो संस्थागत योगदान हुनुपर्छ भन्ने जिम्मेवारी बोध गर्दै बेलायतमा रहेका खोटाङ्गेबिच अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं भन्ने स्लोगन बनाएर आर्थिक सहयोग संकलन अभियान आरम्भ गरेका हौं ।’
खोटाङ सेवा समाज यूकेले जिल्लाका लागि अक्सिजन कन्सन्ट्रेटर तथा कोभिड–१९ बाट बच्न र बचाउनका लागि उपयोगी हुने स्वास्थ्य उपकरण उपलव्ध गराउने तयारी गरेको छ । ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान अन्तरगत २० लाख बराबरको स्वास्थ्य सामग्री जिल्लालाई हस्तान्तरण गर्ने तयारी भइरहेको समाजका विशिष्ट संरक्षक सदस्य एवं संस्थापक रविप्रकाश राईले बताए ।
यद्यपि, कुन–कुन स्वास्थ्य उपकरण प्रदान गर्ने भन्ने बारेमा अन्तिम संस्थागत निर्णय हुन बाँकी रहेको जनाइएको छ । खोटाङको सामाजिक र मानवीय हितका क्षेत्रमा सहयोग गर्दै आएको खोटाङ सेवा समाज यूकेले २०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ ७ वटा एम्बूलेन्स हस्तान्तरण गरेको थियो । त्यो भन्दा अघि पनि समाजले जिल्ला अस्पताललाई एक थान अल्ट्रा साउन्ड मेसिन प्रदान गरेको थियो ।