प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री उषाकला राईले मान्छेको जीवन रक्षा र स्वास्थ्य नै प्राथमिक कुरा भएकाले सरकारले आफ्नो जनताको स्वास्थ्यलाई नै प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् ।
विराटनगरबाट स्वास्थ्य सामग्री ल्याएर स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देललाई बुधबार हस्तान्तरण गर्दै सामाजिक विकास मन्त्री राईले अहिले जनताका लागि चाँडोभन्दा चाँडो भ्याक्सिन उपलव्ध गराउनु नै अन्तिम विकल्प भएको निष्कर्षमा सरकार पुगेको बताएकी हुन् ।
मन्त्री उषाकला राईले ऋण काढेर वा मौज्दात रकम खर्च गरेर भएपनि जनतालाई कोभिड–१९ विरुद्धको खोप दिने तयारी भइरहेको बताउदै मन्त्री राईले ‘चाँडोभन्दा चाँडो जनताका लागि भ्याक्सिन नै अन्तिम कुरा हो भन्ने कुरामा हामी पुगेका छौँ । ऋण काढेर भएपनि वा भएको मौज्दात बजेटबाट भ्याक्सिन किनेर लगाइदिने योजना हाम्रो पहिलो प्राथमिकतामा रहेको छ । कोरोना कहरले उव्जाएको चुनौतीलाई अवशरमा बदल्न जरुरी छ ।’
सामाजिक विकास मन्त्री राईले प्रदेश नम्बर १ भरीका जनतालाई चाँडोभन्दा चाँडो कोभिड–१९ विरुद्धको खोप निःशुल्क लगाउने कार्यक्रम अगाडि बढाइएको बताएकी छन् । त्यसका लागि प्रदेश नम्बर १ सरकारले खोप किन्ने तयारी गरिरहेको मन्त्री राईको भनाई थियो ।
नेपाल सरकारले जनतालाई निःशुल्क खोप दिने बजेट ल्याइसकेको अवस्थामा प्रदेश सरकार आफैले सोभन्दा चाँडो खोप सेवा उपलव्ध गराउन प्रयत्न गरिरहेको बताइन् । ‘प्रदेश सरकारले छिटोभन्दा छिटो सबै जनतालाई कोभिड विरुद्ध खोप लगाएर सुरक्षित गर्ने कार्यक्रम बनाएको छ,’ मन्त्री राईले भनिन्, ‘कोभिडको कहरले हामीलाई नयाँ कुरा सिकाइरहेको छ । स्वास्थ्यका बारेमा नयाँ ढंगले सोच्न बाध्य भएका छौँ ।’
मन्त्री राईले कोरोनालाई परास्त गर्नका लागि नेपाल सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्न, सामाजिक दुरी कायम गर्न, सेनीटाइजर र मास्क अनिवार्य लगाउने र जनचेनाका कार्यक्रमलाई जनता–जनतामा पु¥याउन आवश्यक रहेको औंल्याएकी छन् ।
मन्त्री राईले उपचारका लागि काठ्माण्डौं वा बिराटनगर जाँदै गर्दा बाटैमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि जिल्ला अस्पताललाई नै मजबुद अस्पताल बनाउन प्रस्ताव गरेको बताएकी छन् ।
जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट जडान सहितको एचडियू, आइसियू र भेन्टिलेटर सहितको उच्च जनशक्ति र प्रविधियुक्त अस्पताल बनाउने योजना अघि बढाउन मन्त्रालयकातर्फबाट प्रस्ताव गरेको मन्त्री राईले बताईन् ।