खोटाङ । खोटाङका २७८ संक्रमितले कोभिड–१९ जितेका छन् । हालसम्म कुल ९४३ जना संक्रमित हुँदा बुधबारसम्ममा २७८ जना संक्रमणमुक्त भएका हुन् । कुल संक्रमितमध्ये डिस्चार्ज हुँदा र ५ जनाको मृत्यु हुँदा हाल ६६० जना सक्रिय संक्रमित रहेको विभिन्न स्थानीय तहले उपलव्ध गराएको तथ्यांकमा उल्लेख छ ।
जिल्लामा संक्रमण दर बढिरहँदा पछिल्लो समय निको हुने दर पनि बढ्दो रहेको पाइएको छ । सक्रिय संक्रमितमध्ये धेरैजसो होमआइसोलेसनमा, कतिपय स्थानीय तहले बनाएको आइसोलेसनमा र कतिपय जिल्ला बाहिरका अस्पतालमा उपचाररत छन् । बुधबारसम्मको तथ्यांक अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुल ३३० जना संक्रमित हुँदा १३५ जना निको भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकामा १३२ जनालाई संक्रमण हुँदा २५ जनाले कोभिड–१९ जितेका छन् । ऐसेलुखर्क गाउँपालिकाका ९४ जना संक्रमितमध्ये १४ जना संक्रमणमुक्त भएका छन् । सो गाउँपालिकाबाट रेफर भएका ४ जना हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं गएका छन् ।
मंगलबार मात्र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका संक्रमित महिलालाई २ लाख ९५ हजारमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेलले बताइन् ।
यस्तै, केपिलासगढी गाउँपालिकाका कुल संक्रमित संख्या ४८ मध्ये ६ जनाले कोभिड–१९ लाई जितिसकेका छन् । सो गाउँपालिकाबाट ३ जना अन्यत्र रेफर भएका छन् । खोटेहाङ गाउँपालिकाका कुल ३५ संक्रमितमध्ये ९ जना, जन्तेढुंगा गाउँपालिकाका ५३ जना संक्रमितमध्ये २२ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ८० जना संक्रमितमध्ये ७ जना डिस्चार्ज भइसकेका छन् ।
यस्तै, रावाबेँसी गाउँपालिकाका कुल संक्रमित ८२ जनामध्ये १५ जना र साकेला गाउँपालिकाका ७८ संक्रमितमध्ये ४५ जना संक्रमणमुक्त भइसकेका छन् । बराहपोखरी गाउँपालिकामा भने हालसम्म कोही पनि संक्रमणमुक्त भएका छैनन् । बराहपोखरीमा हालसम्म संक्रमितको संख्या ११ पुगेको छ ।
हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना र केपीलासगढी गाउँपालिकाका १ जनाको मृत्यु भइसकेको सम्वन्धित स्थानीय तहले जनाएका छन् ।