खोटाङ । खोटाङका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज जेठ २७ र २८ गते लगाइदैछ । जिल्लाका ६२ देखि ६४ उमेर समूहका दुई हजार चार सय चौवीस नागरिकलाई चीनबाट अनुदान प्राप्त चिनियाँ खोप लगाउने भएको हो ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा मंगलवार जिल्ला प्रशासन कार्यालयमा वसेको बैठकले ६२ देखि ६४ वर्ष उमेर समूहका सबै र पहिलो डोज लगाउन छुटेका ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लगाउने निर्णय भएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले जानकारी दिए ।
६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको लागि खोप दिने भनिए पनि पर्याप्त खोप नभएकोले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र उपलब्धताको आधारमा बाँकीलाई खोप दिने निर्णय गरेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
बैठकमा जिल्ला समन्वय प्रमुख ववि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, जिल्ला समन्वय अधिकारी कल्पना श्रेष्ठ, गोरखनाथ गण मुढे व्यारेकका गणपति नरोत्तम पौडेल, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक सरोज कार्की, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अमर प्रसाद गजमेर जिल्ला अस्पताल खोटाङका प्रमुख डा. बैभव मल्लिक लगायतको उपस्थिति रहेको थियो ।