खोटाङ । कोभिड–१९ को महामारीबाट बच्ने र बचाउने अभियानकाक्रममा खोटाङलाई आवश्यक स्वास्थ्य सामग्री जुट्नेक्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने थप स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयलाई प्राप्त भएको हो ।
मन्त्रालयबाट ५ थान पल्स अक्सिमिटर, २ सय थान एन्टीजेन किट, ५० पिस डेडवडी व्याग, ५ सय पिस कोभिड–१९ गाउन सेट, ५० पिस फेसशिल्ड, सय पिस एन ९५ मास्क र एक हजार पिस कोभिड–१९ मास्क प्रदान गरिएको हो ।
प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एबं एमाले नेता कुमार आचार्यको पहलमा मन्त्रालयबाट ल्याइएको स्वास्थ्य सामग्री नेता आचार्यले स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई शुक्रबार शुक्रबार हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला समन्वय अधिकारी कल्पना श्रेष्ठ, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, सामुदायिक सेवा केन्द्र खोटाङका अध्यक्ष सनमान खडका लगायतको उपस्थिति रहेको थियो ।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र कतिपय व्यक्तिगत सहयोगमा स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री जुटिरहेको छ ।
स्वास्थ्य कार्यालयको माग एवं जिल्लाका जनप्रतिनिधि तथा दलका नेताको पहलमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई गाउन, मास्क, सेनीटाइजर लगायतमा स्वास्थ्य सामग्री भित्रिने क्रम जारी छ ।
गत जेठ २६ गते खोटाङ सेवा समाज यूकेले स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको थियो ।
यस्तै, जेठ १८ गते प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री उषाकला राईको पहलमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बिराटनगरबाट ५० लिटरको १५ पिस अक्सिजन सिलिण्डर, ४ थान अक्सिजन कन्सन्ट्रेटर, ४ थान अक्सिमिटर, १० हजार सेट एन्टीजेन किट, २० पिस इन्फ्रारेड थर्मोमिटर, ३२० सेट गाउन लगायतका स्वास्थ्य सामग्री जिल्ला ल्याइएको थियो । मन्त्री राईले बिराटनगरबाट गत बैशाख ३० गते पनि स्वास्थ्य सामग्री पठाएकी थिईन् ।
यस्तै, जेठ ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट प्रतिनिधिसभा सदस्य भट्टराईमार्फत ४ सय थान पिपिइ गाउन, ४ सय थान एन ९५ मास्क, २० लिटर सेनिटाइजर, ४ हजार थान सर्जिकल मास्क, १ हजार सेट एन्टीजेट किट, ४० लिटरको १५ पिस अक्सिजन सिलिण्डर र २ सय पिस भिटिएम ल्याइएको थियो । प्रतिनिधिसभा सदस्य भट्टराई काठ्माण्डौंबाट गत बैशाख ३० गते पनि स्वास्थ्य सामग्री लिएर आएका थिए ।
गत जेठ १० गते हवाई क्याप्टेन सुवास रिजालले पनि स्वास्थ्य कार्यालय खोटाङलाई ५० हजार १०० बराबरको स्वास्थ्य सामग्री प्रदान गरे ।
खोटेहाङ गाउँपालिकाको सावाकटहरे मावली घर र बिराटनगर घर भएका क्याप्टेन रिजालले स्वास्थ्य कार्यालयलाई १० थान पल्स अक्सिमिटर, १५० ग्रामको १५० थान सेनीटाइजर, ५ सय ग्रामको २ थान सेनीटाइजर, १० थान थर्मोमिटर र थ्रि लेयरको २ हजार ५ सय थान सर्जिकल मास्क प्रदान गरेका हुन् ।
यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा कार्यरत मेडिकल अधिकृत डा. जितेन्द्रप्रसाद साहले जन्तेढुंगा गाउँपालिकालाई ५० हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
कोभिड–१९ को महामारी बिरुद्ध स्वास्थ्यकर्मीकारुपमा गाउँपालिकासँग दिनरात ‘होस्टेमा हैंसे’ गरिरहेका मेडिकल अधिकृत साहले जेठ ४ गते गाउँपालिकालाई १० थान पिपिई सेट, १० थान फेसशिल्ड, २ सय थान एन ९५ मास्क, ५ सय थान सर्जिकल मास्क र १० थान सुज कभर प्रदान गरेका थिए ।