खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले किसान तथा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कृषि तथा पशु कार्यक्रम अन्तरगतको बजेट तथा कार्यक्रमबाट ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले किसान तथा कृषक समुहलाई ११ वटा हाते ट्याक्टर उपलव्ध गराएको प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद भट्टराईले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत भट्टराईका अनुसार कृषि पेशालाई यन्त्रीकरण गर्दै व्यवसायीकरण गर्ने लक्ष्यकासाथ खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित हरियाली कृषक समुह, खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित बगैंचा बहुउद्धेश्यीय कृषक समुह, खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित खतिवडा बहुउद्धेश्यीय कृषि फर्म, खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित शुभलक्ष्मी कृषक समुह, खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीस्थित बंछाल कृषक समुह, खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित बर्रे प्रगतीशिल कृषक समुह, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित दशमी कृषक समुह र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित गोदावरी कृषक समुहलाई एक/एक थान हाते ट्याक्टर प्रदान गरिएको हो ।
यस्तै, खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीस्थित पदमबहादुर न्यौपाने सहित पाँच कृषकको समुह, खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित प्रल्हाद अधिकारी सहितको पाँच जनाको समुह र खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित उमेश भट्टराई सहित पाँच जनाको समुहलाई एक/एक थान हाते ट्याक्टर प्रदान गरिएको छ ।
हाते ट्याक्टर गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई लगायतले किसानलाई हस्तान्तरण गरेका थिए । किसानलाई अनुदानमा हाते ट्याक्टर उपलव्ध गराउनका लागि गाउँपालिकाले १५ दिने सूचना आव्हान गरेको थियो । सूचना आव्हान पछि परेको निवेदनका आधारमा किसान र कृषक समुहलाई हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक ममिता खवासले बताईन् ।
किसानलाई जमिन जोत्ने हाते ट्याक्टर वितरणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष ७ लाख रकम विनियोजन गरेको थियो । हाते ट्याक्टरमा किसानले २५ प्रतिशत बेहोरेको कृषि शाखा संयोजक खवासले बताईन् । पछिल्लो समय जमिन खनजोतका लागि किसान हाते ट्याक्टरप्रति आकर्षित हुन थालेका छन् । गोरु नारेर हलोले जोतिने कतिपय खेतबारीमा हाल हाते ट्याक्टर चलाउन थालिएको छ ।