खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आमा समुहलाई कुटानी पिसानी मिल वितरण गरेको छ । गाउँघरमा अन्न पिस्नका लागि ढिकीजाँतोको प्रयोग गर्दैआएका महिलालाई नगरपालिकाले महिला लक्ष्यित कार्यक्रमको बजेटबाट खरिद गरेर डिजेलबाट चल्ने कुटानी पिसानी मिल प्रदान गरेको हो ।
ढिकी जाँतो गर्नेक्रममा हुने शारीरिक श्रमको बोझ घटाउन र समयको बचतका लागि चालु आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन गरिएको ६ लाखबाट नगरपालिकाभित्रका ११ वटा आमा समुहलाई कुटानी पिसानी वितरण गरिएको उपप्रमुख बिमला राईले बताईन् । नगरपालिकाले गाउँभरीका महिलाले अन्न पिस्नका लागि उपयोग गर्न पाउनेगरी समुहलाई मिल प्रदान गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको एक वटा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको दुई वटा, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका एक वटा, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका २ वटा, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका दुई वटा, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकाद दुई वटा र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका एक वटा आमा समुहलाई कुटानी पिसानी मिल प्रदान गरिएको हो । महिला समुहलाई कुटानी पिसानी मिल प्रदान गर्नका लगि चालु आर्थिक वर्ष ६ लाख विनियोजन गरिएको भए पनि केही रकम अपुग भएको उपप्रमुख राईले बताईन् ।
गाउँघरमा हालसम्म अन्न पिस्नका लागि ढिकी जाँतोको प्रयोग हुने गरेको छ । ढिकी वा जाँतोको प्रयोग गर्नेक्रममा महिलाले बढी शारिरिक श्रम गर्नुका साथै उत्तिकै समय गर्च गर्नुपर्ने हुन्छ । यही कारण आमा समुहलाई कुटानी पिसानी मिल प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख मेयर इवन राई र उपप्रमुख राईले शनिबार आमा समुहलाई हस्तान्तरण गरेका हुन् । ‘शारीरिक श्रमको बोझलाई कम गर्नुका साथै समयको समेत बचत हुने हुँदा आमा समुहलाई कुटानी पिसानी मिल बितरण गरेका छौँ,’ उपप्रमुख राईले भनिन्, ‘यसअघि अघि पनि करिब ५० वटा आमा समुहलाई सहयोग गरिसकेका छौँ । आशा छ यसको उपयोग र जतनमा ध्यान पुग्ने नै छ ।’