खोटाङ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले मिनि–अक्सिजन प्लान्ट जडान गरेको छ । कोभिड–१९ को महामारीका बिचमा संक्रमण हुने बिरामीका लागि आवश्यक अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मिनि–अक्सिजन प्लान्ट जडान गरिएको हो ।
गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाको पहलमा प्राथमिक स्वास्थ्य केन्द्रमा एकैसाथ १३ वटा बेडका बिरामीलाई सिधै अक्सिजन दिन मिल्नेगरी मिनि–अक्सिजन प्लान्ट जडान गरिएको हो ।
मिनि–अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजन एकैसाथ आइसोलेसन सेन्टरका ६ बेडमा, सामान्य वार्डका ६ बेडमा र बर्थिङ सेन्टरका १ बेडका बिरामीलाई दिनमिल्ने गरी जडान गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।
करिब २० लाख बराबरको उपकरण प्रयोग गरेर तयार पारिएको मिनि–अक्सिजन प्लान्ट शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले गाउँपालिका अध्यक्ष निरौला र उपाध्यक्ष पुष्पकला भुजेललाई हस्तान्तरण गरेका छन् । मिनि–अक्सिजन प्लान्ट हस्तान्तरण सँगै उद्घाटन गरिएको छ । विभिन्न उपकरणको प्रयोगमा ७ वटा अक्सिमिटरबाट संकलन गरिएको अक्सिजन ट्यांकीमा पु¥याउने र ट्यांकीबाट पाइपमार्फत बेडमा पु¥याउने व्यवस्था मिलाइएको छ ।
खोटाङका १० स्थानीय तहमध्ये ऐसेलुखर्क गाउँपालिकामा जिल्लामै पहिलो मिनि–अक्सिजन प्लान्ट जडान गरिएको हो । जिल्ला अस्पताल दिक्तेलमा अक्सिजन प्लान्ट जडानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट बिनियोजन गरिसकेको अवस्थामा ऐसेलुखर्क गाउँपालिकाले आफ्नै पहलमा मिनि–अक्सिजन प्लान्ट जडान गरेको हो ।
मिनि–अक्सिजन प्लान्ट जडानका लागि राष्ट्रिय आविष्कार केन्द्रबाट करिब दुई गाडी सामग्री लिएर ७ जनाको टोली ऐसेलुखर्क गाउँपालिका पुगेका थिए । टोलीले दुई दिनमै मिनि–अक्सिजन प्लान्ट जडानको काम सम्पन्न गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महाबीर पुनलाई आग्रह गरेर मिनि–अक्सिजन प्लान्ट जडान गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।
गाउँपालिकामै मिनि–अक्सिजन प्लान्ट जडान भएसँगै महामारी थप जटिल बनेको अवस्था र संक्रमितलाई अक्सिजनको आवश्यकता परेको अवस्थामा अक्सिजनको अभाव नहुने गाउँपालिकाको दावी छ । ‘अक्सिजनको सा¥है समस्या भयो भनेपछि मेरो आग्रहलाई महाबीर पुनले स्वीकार गर्नु भयो । अव हाम्रो गाउँपालिकामा अक्सिजनको अभाव हुने छैन ।
सिलिण्डर बोकेर कुदिरहनु पर्दैन । यतीले हामीलाई धान्न सक्छ,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘राष्ट्रिय आविष्कार केन्द्रले २० लाखको त उपकरण मात्रै पठाइदिएको छ । गाउँपालिकामा नियमित अक्सिजनको आपुर्ती हुने अपेक्षा गरेका छौँ । पहाडी जिल्लामा यस्तो प्रविधि जडान गर्न लागिएको भन्दै जान्ने बुझ्ने अचम्मित छन् ।’