शुक्रवार, भाद्र २६ गते २०८३

गढीको संरक्षण र विकास गर्न कार्यदल 

गढीको संरक्षण र विकास गर्न कार्यदल 

रोदिक खबर

२२, आषाढ २०७८
  • 3.7K
    SHARES
  • गढीको संरक्षण र विकास गर्न कार्यदल 

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा रहेको ऐतिहासिक हलेसी गढीको पुरातात्विक अन्वेषण, संरक्षण र विकास गर्न कार्यदल गठन भएको छ । स्थानीय समाजसेवी भुपेन्द्र कुमार राईको संयोजकत्वमा  पाँच सदस्य कार्यदल गठन भएको हो ।
    हिन्दू, बौद्ध र किरातको त्रिधार्मिक स्थलअन्तर्गत किरात धर्मालम्बीहरुको क्षेत्र हलेसीगढी संंरक्षण तथा विकास गर्ने गरी कार्यदल गठन भएको बताइएको छ । हलेसीगढी संंरक्षण तथा विकास गर्ने भन्दै होलैसुङ समुह नामक एक संस्थामा आन्तरिक खटपट देखिएपछि नगर प्रमुख इवन राईले सो समुहलाई आधिकारिक बन्न र गढीलाई समेटेर लैजान अनुरोध गर्दै आएका थिए ।

    तर, गढीको संरक्षण र विकास गर्ने नाममा उक्त समुह आधिकारीक नभएको पुष्टि भएपछि सोही संस्थाका भुपेन्द्र कुमार राईको संयोजकत्वमा कार्यदल गठन भएको हो ।सो संस्थाका राई र दिपेन्द्र राईले केहीदिन अघि होलैसुङ समुहमा आफूहरु नरहने भन्दै सामाजिक संजालमा विज्ञाप्ति नै जारी गरेपछि गढी संरक्षणका लागि कार्यदल बनाइएको बताइएको छ ।

    होलैसुङ समुहको आवरणमा दलगत स्वार्थ पूरा गर्न प्रयोग गरिएको पाइएपछि भुपेन्द्र कुमार राई र दिपेन्द्र राईलगायतका व्यक्तिहरु बाहिरिएको एक स्रोतले बताएको छ । होलैसुङ समुहलाई आधिकारिक बन्न र गढीलाई समेटेर लिएर जान बारम्बार अनुरोध गर्‍यौँ, उहाँहरुबाट उक्त समुहलाई आधिकारीकता दिने काम भएन। उहाँहरुको आन्तरिक विवादकाकारण उक्त समुह आफैं विघटन भएपछि गढीको संरक्षण, प्रवद्र्धन र विकासको प्रचारप्रसार गर्नको लागि कार्यदल गठन गरिएको नगर प्रमुख राईले बताए ।

    ‘गढीको संरक्षण गर्ने, गढीको पुरातात्विक अन्वेषण गर्ने, विभागसँग समन्वय गरेर यसको प्रमाणीकरण गराउने, आवश्यक दस्तावेज संकलन गराउनै पर्‍यो पर्यटननको रुपमा विकास गरि यस क्षेत्रको धार्मिक सांकृतिक पर्यटनको विकासको गन्तव्यको रुपमा स्थानीयहरुको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले गढी बनाइएको छ ।’

    राईले भने, ‘यस अघि होलैसुङ समुहले यस गढीको बारेमा विभिन्न काम गर्दै आएको भनेपनि अहिलेसम्म कुनै दर्ता नभएको, यो बिचमा खेलमैदान देखि लिएर विविध काम गर्ने विषयमा खटपट आइसकेपछि बास्तविकता बुझ्दा आधिकारीक नभएको पाइयो, त्यसैले आगामी दिनमा गढीको संरक्षणका लागि कार्यदल निर्माण गरेका हौँ ।’


    अब गढीको संरक्षणका लागि राईको संयोजकत्वमा गठन भएको कार्यदलले आगामी दिनमा सरोकारवालाहरु सबैलाई समेटेर एउटा बृहत कार्य समिति निर्माण गर्ने जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित ऐतिहासिक गढी हलेसी थुमका प्रथम शासक होलैसुङ र उनका दशभाई छोराको सम्झना र सम्मानमा निर्माण गरिएको सामूहिक चौतारो हो ।

    चौतारोको छानोमा धनुषबाण र ढुंगाको तरबार राखिएको छ । करिब ३५० वर्ष पहिले राज्यसत्ता सञ्चालन गरेका राजा होलैसुङ तथा उनका छोराहरुको स्मृतिमा सो ठाँउमा चौतारा निर्माण गरिएको छ ।

    चौतारोमा होलैसुङका जेठा छोरा होम्दिमहोँछा, माइला माया राजाहोँछा, साइला जितराजाहोँछा, काइला पुरिमहोँछा, ठाइँला बिराजाहोँछा, अन्तरे फ्लोमोहोँछा, जन्तरे मुङ्लोहोँछा, मन्तरे नाम्राहोँछा, लखन्तरे सैंदोहोँछा र कान्छा तातेसुङहोँछाको नामउल्लेख छ । होलैसुङ राजाले हलेसी क्षेत्रमा प्रथम कविलाको रुपमा शासन सञ्चालन गरेका थिए ।

    प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - २३:१५:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको