खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र खोटाङले दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ ओख्रेमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
दुरदराजमा रहेका सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको व्यवस्थापनमा आयुर्वेद स्वास्थ्य केन्द्र्रले मंगलबार एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिबिर सञ्चालन गरेको हो ।
शिबिरमा ग्याँस्ट्रिक, वाथ, छाला, श्वास–प्रश्वास, रक्तचाप लगायतका स्वास्थ्य समस्या भएका १४० जनाको स्वास्थ्य चेकजाँचका साथै आवश्यक औषधि वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्रका निमित्त कार्यालय प्रमुख अजयकुमार झाले बताए ।
स्वास्थ्यचौकी ओख्रेमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ७८ महिला र ६२ पुरुष लाभान्वित भएका छन् । स्वास्थ्य शिबिरमा आयुर्वेद स्वास्थ्य केन्द्र्र मातहतका शाखाका स्वास्थ्यकर्मीले स्थानीयको स्वास्थ्य चाँज गरेका थिए ।
स्वास्थ्य शिबिर उद्घाटनकाक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई, वडाध्यक्ष भीमबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।