खोटाङ । असार २४, खोटाङको साकेला गाँउपालिकामा भुजेल जातीको भाषा संस्कार–संस्कृति (पुजारामे) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका विचमा स्वास्थ्यका मापदण्ड अपनाउदै भुजेल जातीको भाषा संस्कार–संस्कृतिलाई जिल्ला भित्र्याउने उदेश्यका साथ चार दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
भुजेल समाज सेवा साकेला गाउँपालिकाको आयोजना तथा साकेला गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित प्रशिक्षण कार्यक्रममा भुजेल समाज सेवा खोटाङका पदाधिकारीहरुले सहजीकरण गरेको भुजेल समाज सेवा साकेला गाउँपालिकाका संस्कार– संस्कृति संरक्षण संयोजक प्रजा कुमार भुजेलले जानकारी दिए ।
जिल्लामा भुजेल बन्धुहरू धेरै हुनुहुन्छ संयोजक भने तर भुजेल भाषा, संस्कार–संस्कृति छ भन्ने भुजेललाई नै थाहा छैन, त्यसैले पनि आफ्नो भाषा संस्कार सस्कृती पहिचान गरि जिल्लामा भुजेल सस्कार संस्कृति भित्र्याउनका साथै र अन्य गैर भुजेल समुदायलाई आफ्नो संस्कार–संस्कृतिबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।
चार दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा भजेलहरुको जन्मदेखी मृत्युसम्मका जन्म, विवाह र मृत्यु संस्कारलगायतका विषयमा प्रशिक्षण दिइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिकाकासाथै तेह्रथुम जिल्लाका ७ जनाले उक्त प्रशिक्षणमा सहभागीता जनाएका थिए ।
भुजेलजातीको आफ्नै भाषा संस्कार–संस्कृति भएकाले यसको खोज तथा अनुसन्धानमा भुजेलहरु आफै सक्रिय भएर लाग्नु पर्ने साकेला गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काले बताए । हाम्रो देश बहुभाषा बहुसंस्कृति भएको देश हो त्यसैले सबैले आ आफ्नै संस्कार संस्कृति संरक्षण गर्नु पर्ने उनको भनाई छ ।
भुजेल समाज सेवा साकेला गाउँपालिका अध्यक्ष कुमार सिंह भुजेलले जातीय भाषा संस्कारलाई संरक्षण र प्रर्वद्धनमा साकेला गाउँपालिकाले गरेको सहयोग प्रति सम्मान व्यक्त गरेका थिए । जिल्लामा हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा ६ नेर्पा र रावा बेसी गाउँपालिकाको वडा नं ६ हौंचुरमा मृत्यु संस्कार भुजेल जातीकै परम्परा अनुशार गर्न शुरु गरिएको भुजेल समाज सेवा खोटाङका सचिव उमेश भुजेल बताए ।