खोटाङ । खोटाङका एक क्यान्सरका बिरामीलाई उपचार खर्च जुटाइएको छ । आन्द्राको क्यान्सरबाट थलिएपछि हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ४७ वर्षीय तारानाथ अधिकारीलाई उपचार खर्च जुटाइएको हो । कांग्रेस जन्तेढुंगा गाउँपालिका समिति उप–सभापति बाजिन्द्र बिष्टको पहलमा स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट ३३ हजार रुपैयाँ सहयोग उठेको हो ।
उठाइएकामध्ये २४ हजार ६५० रुपैयाँ भने सोमबार आइएमई गरेर पठाइएको कांग्रेस जन्तेढुंगा गाउँपालिका समिति उप–सभापति बिष्टले बताए । विष्टकै समन्वयमा एनआरएनए महिला फोरम जर्मनीकी संयोजक करुणा तुलाधर राईले ४२ हजार सहयोग पठाएकी थिईन् ।
करुणाले पठाएकामध्ये क्यान्सर पीडित अधिकारीलाई १० हजार र सोही ठाउँका मानसिक बिरामी मनोज तामाङलाई ३२ हजार रुपैयाँ हस्तान्तरण गरिएको बिष्टले बताए । लामो समयदेखि क्यान्सरबाट पीडित अधिकारीको सहयोगार्थ सहयोग रकम संकलन अभियान जारी रहेको छ ।
अधिकारीको उपचारकाक्रममा तत्काल १ लाख आवश्यक परेपछि खोटाङ सेवा समाज तथा समाजका सचिव रहेका बिष्टको पहलमा २०७५ साल चैतमा ५७ हजार ५ सय रुपैयाँ सहयोग जुटाइएको थियो । अधिकारी परिवारसहित हाल काठ्माण्डौंमा गुजारा चलाइरहेका अवस्थामा क्यान्सरबाट पीडित भएका हुन् । अधिकारीलाई सहयोग गर्नका लागि तारानाथ अधिकारीको नाममा बैकअफ काठ्माण्डौंको ठमेल शाखामा खोलिएको खाता नं. ०५०१०००१०७७४५२५ मा सहयोग जम्मा गर्न सकिने जनाइएको छ ।
ज्वरोको समस्याले थलिएकी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीकी ६ वर्षीय सिर्जना पौडेलको उपचारार्थ आर्थिक सहयोग संकलन गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि असार २८ गते नोबेल अस्पताल बिराटनगरमा भर्ना गरिएकी बालिकाको उपचारार्थ २२ हजार ५ सय संकलन भएको हो ।
संकलन भएको रकम बालिकाको आफन्तको नाममा पठाइसकिएको अभियान्ता बिष्टले बताए । ‘ज्वरोदेखि निमोनिया हुँदासम्म पनि अस्पताल लैजानुपर्छ’ भन्ने चेतनाको अभावमा सिर्जनालाई ढिलागरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि आफन्तले स्वास्थ्य संस्था लैजान सुझाव दिएपछि मात्र सिर्जनालाई स्वास्थ्य संस्था पु¥याइएको थियो । परिवारको आर्थिक अवस्था अत्यान्तै नाजुक भएको तथा आफै उपचार गर्न सक्ने अवस्था नभएका कारण बालिकाको उपचारका लागि सहयोग संकलन अभियान थालिएको बिष्टले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्रले रेफर गरेपछि बिराटनगर लगिएकी सिर्जनाको मुटुमा प्वाल देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । बुवाको मृत्यु भएपछि फरक क्षमताकी आमा बिमला पौडेलको लालनपालनमा रहेकी सिर्जनालाई केही दिनको उपचारपछि शहीद गंगालाल वा टिचिङमा लैजान सुझाव दिइएको छ ।
सिर्जनाको उमेर अनुसार तौल र उचाई नभएको स्वास्थ्यकर्मीले बताएका छन् । सिर्जनालाई अस्पताल पठाउने क्रममा जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले ५ हजार सहयोग गर्नुका साथै एम्बूलेन्समार्फत बंशिलाघाटसम्म निःशुल्क पु¥याउने व्यवस्था मिलाएका थिए । बालिकाको उपचारका लागि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम घर भइ हाल ललितपुर महानगरपालिका–२८ निवासी सेम्याङ राईले पनि ५ हजार सहयोग गरेकी छन् ।