खोटाङ । शहीद मनोज हत्याकाण्ड भएको ३० वर्ष पूरा भएको छ । २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुशारको सेवा सुबिधा नदिइएको बिरोधमा कर्मचारीहरुको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा प्रहरीको गोली लागेको थियो ।दिक्तेल बहुमुखी क्याम्पसमा अध्यायनरत जोशीको हत्या भएको घटनालाई जिल्लामा शहीद ‘मनोज हत्याकाण्ड’ का रुपमा चिन्ने गरिन्छ ।

बिरोध जुलुस बजार परिक्रमापछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरु बताउँछन् । लामो समयदेखिको मागका वावजुद जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो ।
उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखहरुलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुव्र्यबहार गरेका थिए । सरकारबिरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए ।

सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ‘मनोज–झपेन्द्र’ स्मृति दिवसकारुपमा मनाउँदै आएको छ ।
दिक्तेलका बुवा नारायणप्रसाद जोशी र आमा अम्बीका जोशीको कान्छो छोराका रुपमा जोशीको २०३० साल असोज २३ गते जन्म भएको थियो । वास्तबिक नाम ‘सर्मेन्द्र’ भए पनि मनोजका नामले परिचित जोशी इन्द्रणी साँस्कृतिक समाज तथा एक युवा संगठनमा आवद्ध थिए । यसबाहेक जोशी जिल्लाका एक कुशल खेलाडीका रुपमा परिचित थिए ।
बिगतका वर्षहरुमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्दै मनोज जोशी स्मृति दिवस मनाउने गरिएकामा यसपल्ट कोभिड–१९ का कारण शुक्रबार बिहान दिक्तेल अस्पतालचोकस्थित जोशीको समाधिमा माल्यार्पण एबं श्रद्धाञ्जलीसभा कार्यक्रम मात्र आयोजना गरिएको छ । जोशीलाई शहीद घोषणा गर्ने माग पुरा भए पनि दोषीमाथि अझै कारबाही हुन बाँकी रहेको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताए ।

यस्तै, जिल्ला अस्पताल खोटाङमा कार्यरत ल्याब टेक्निशियन शेखर अधिकारी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सवारी चालक युवराज गुरुङ ‘काजी’लाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । जिल्लामा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणमा अग्रणी भूमिका खेलेको भन्दै ल्याब टेक्निशियन अधिकारी र चालक गुरुङलाई जनही पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले टेक्निशियन अधिकारी र चालक गुरुङलाई पुरस्कार प्रदान गरेका थिए ।
मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्टिय कर्मचारी संगठन (निजामति) खोटाङको संयूक्त आयोजनामा गरिएको कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शहीद मनोज जोशीकी आमा अम्बिका जोशी, प्रतिष्ठानका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।