बिहिवार, कार्तिक १३ गते २०८३

महुरे–सिमपानी सडक कालोपत्रेको काममा स्थानीयको अवरोध

महुरे–सिमपानी सडक कालोपत्रेको काममा स्थानीयको अवरोध

रोदिक खबर

१७, श्रावण २०७८
  • 3.5K
    SHARES
  • महुरे–सिमपानी सडक  कालोपत्रेको काममा स्थानीयको अवरोध

    खोटाङ । भुक्तानी नपाएको भन्दै स्थानीय कामदार तथा व्यवसायीले खोटाङको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काम ठप्प बनाएका छन् ।

    तीन वर्षबित्दा समेत काम गरे वापतको पारिश्रमिक नपाएको तथा निर्माण कम्पनीलाई दिइएको उधारो सामानको भुक्तानी नपाएको भन्दै बुईपा, विजयखर्क र राजापानीका स्थानीय कामदार तथा व्यवसायीले गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड अन्तरगत महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काम ठप्प बनाएका हुन् ।

    काम गरेवापतको पारिश्रमिक तथा होटल, हार्डवेयर, खाद्य सामग्री वापतको भुक्तानी नपाएका स्थानीय कामदार र व्यवसायीले निर्माण कम्पनी भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीको ट्रक, टिफर र ट्याक्टरको चाँबी नियन्त्रणमा लिएर काम रोकेका हुन् ।

    सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तहिन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको बिरोधमा २०७६ साल पुस २० गतेदेखि महिना दिन र फागुन ८ गतेदेखि २ दिन सडकको काम ठप्प बनाएका स्थानीयले पुःन सोही मागमा महुरे–राजापानी (सिमपानी) (२२ किलोमिटर) सडक कालोपत्रेको काममा अवरोध सिर्जना गरेका हुन् ।

    स्थानीय कामदार तथा व्यवसायीको अवरोधका कारण सडकको काम ठप्प बनेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने कामदार तथा व्यवसायीले निर्माण कम्पनीको सवारी साधनको चाँबी नियन्त्रणमा राखेको विषयमा दुबैपक्षबाट जानकारी नआएको बताए ।

    सडक कालोपत्रेको काममा स्थानीय व्यवसायी तथा कामदारले गरेको अवरोध फुकाउने विषयमा हालसम्म कसैको ध्यान पुगेको छैन । काम गरेवापतको कामदारको पारिश्रमिक तथा होटल, खाद्यान्न र हार्डवेयरको भुक्तानी नपाएसम्म काम अघि बढाउन नदिइने बुईपाका व्यवसायी मोहन श्रेष्ठले बताए ।

    कामदार तथा व्यवसायीले निर्माण कम्पनीबाट २८ लाख पाउन बाँकी रहेको बताएका छन् । निर्माण कम्पनी भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीका सुपरभाइजर गणेशप्रसाद तिम्सिनाले भने गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले दुई वर्ष यता बील भुक्तानी नदिएकाले कामदार तथा व्यवसायीको बक्यौता रकम भुक्तानी दिन नसकिएको बताए। तर, गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले भने निर्माण कम्पनीले सडक कालोपत्रेको काममा सम्झौता अनुसारको प्रगती देखाउन नसक्दा भुक्तानी दिन नसकिएको बताए ।

    झण्डै दुई वर्ष यता सडकको काम सन्तोषजनक देखिन्न । अवरुद्ध काम सुरु गर्ने र विचैमा रोक्ने क्रम चल्दा सडकको प्रगती नदेखिएको हो । कालोपत्रे गरेर चिल्ला हुनुपर्ने सडकमा हिलो र धुलोको कारणले यात्रा गर्नै सकस भइरहेको बुईपाका स्थानीय मिलन राईले बताए । सडक कालोपत्रेको काममा ढिलासुस्ती गरेकामा भारत कन्ट्रक्सन÷सिद्धी शाहीबाट करिब साँढे ६ करोड बैंक ग्यारेन्टी तानिसकिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - २१:०६:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको