• ट्रेण्डिङ:

२९ वर्षपछि बन्यो स्वास्थ्यचौकीको पक्की भवन 

२९ वर्षपछि बन्यो स्वास्थ्यचौकीको पक्की भवन 

रोदिक खबर

१८, श्रावण २०७८
  • 4.3K
    SHARES
  • २९ वर्षपछि बन्यो स्वास्थ्यचौकीको पक्की भवन 

    खोटाङ ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको छ । नगरपालिकाको ३८ लाख बजेटमा स्वास्थ्यचौकीको तीन कोठे पक्की भवन निर्माण गरिएको हो ।

    झण्डै वर्ष दिन लगाएर निर्माण गरिएको स्वास्थ्यचौकीको भवन सोमबार नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई र वडाध्यक्ष डिल्ली चाम्लिङले उद्घाटन गरेका छन् ।

    झण्डै २९ वर्षअघि निर्माण गरिएको पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्यचौकीको सेवा प्रवाह नयाँ भवनबाट सुरु गरिएको स्वास्थ्यचौकीका ईन्चार्ज हेल्थ असिस्टेन्ट सन्तोष भट्टराईले बताए । तीन कोठामध्ये एक कोठालाई ओपिडी, एक कोठालाई ड्रेसिङ, मातृ तथा शिशु हेरचाह कक्ष र अर्को कोठालाई औषधि वितरण कक्षका रुपमा प्रयोग सुरु गरिएको छ ।

    बिचको प्यासेजलाई भने सोधपुछ कक्षा तथा टिकट काट्ने ठाउँका रुपमा प्रयोगमा ल्याइएको छ । भवन निर्माण योजना अन्तरगत स्वास्थ्यचौकीलाई २ वटा बेड, ३ वटा दराज, २ वटा काठको टेबल, ४ वटा कुर्सी, ३ वटा लामो कुर्सी, टुल्स लगायतका सामान प्राप्त भएको हेल्थ असिस्टेन्ट भट्टराईले बताए । 

    आठ आना मात्र जग्गा हुँदा स्वास्थ्यचौकीको थप भवन निर्माणको काम दशकौंदेखि अघि बढ्न सकेको थिएन । जग्गा अभाव हुँदा स्वास्थ्यचौकीको भवन निर्माणको काम अघि बढ्न नसकिरहेको अवस्थामा हेल्थ असिस्टेन्ट भट्टराईकै पहलमा २०७६ साल असोजमा स्वास्थ्यचौकीका लागि ५ रोपनीभन्दा बढी निःशुल्क जग्गा जुटाइएको थियो ।

    पुरानो भवनबाट सेवा प्रवाह गर्दैआएको स्वास्थ्यचौकीलाई स्थानीय मोतीप्रसाद अधिकारी, गोबिन्द भण्डारी, लिलाप्रसाद भण्डारी र बोलनादेबी भण्डारीले ५ रोपनी २ आना जग्गा निःशुल्क प्रदान गरेपछि नयाँ भवन निर्माणको पहल थालिएको थियो । 
    स्वास्थ्यचौकी खाल्लेले २०४९ सालमा निर्माण गरिएको जिर्ण भवन मर्मत गरेर स्वास्थ्य सेवा प्रवाह गर्दैआएको थियो । तत्कालिन गाबिस अध्यक्षमा निर्वाचित राजकुमार राईको पहलमा निर्माण गरिएको तीन कोठे भवन जिर्ण हुँदा स्वास्थ्य सेवा प्रवाह कठिन भइरहेको थियो ।

    सो तीन कोठे जीर्ण भवन मर्मतका क्रममा दुई कोठा बनाइएको छ । ‘ठीक एक वर्ष अघिसम्म जिर्ण भवनमा पानी चुहिने समस्याले भाँडा थाप्दै सेवा दिँदै गर्दा हामी निकै तनावमा थियौँ । लगत्तै नगरपालिकाले हाम्रो जिर्ण भवन मर्मत गरिदिएपछि सेवा प्रवाह सहज भयो ।

    सँगसँगै एक तले पक्की भबन निर्माण पनि सुरु भयो,’ हेल्थ असिस्टेन्ट भट्टराईले भने, ‘अहिले आएर आफ्नै पक्की भवनबाट सेवा दिन पाउँदा स्वास्थ्यचौकी परिवार खुशी छौँ । अब हाम्रो काँधमा निकै जिम्मेवारी थपिएको छ । गुणस्तरीय सेवा प्रबाहमा हामी आगाडि बढ्ने छौँ । हाम्रा स्वास्थ्यका सूचकहरु पूरा गर्न लागि पर्नेछौँ । जसरी भवन पक्की भएको छ, हाम्रा कामहरू पनि पक्की हुनेछन् ।’ 
    हाल पुःननिर्माण प्राधिकरण ओखलढुंगाको बजेटमा स्वास्थ्यचौकी खाल्लेको अर्को भवन पनि बनिरहेको छ । १५ महिनाभित्र स्वास्थ्यचौकीको भवन निर्माणको काम सम्पन्न गर्नेगरी थोदुङ÷शिब खिम्ती जेभीले २०७७ साल फागुन ११ गते ठेक्का सम्झौता गरेको हो ।

     भवनको भुई तलामा कार्यालय प्रयोजनका लागि चार कोठा र दोश्रो तलामा कर्मचारीको आवास रहने स्वास्थ्यचौकीका ईन्चार्ज हेल्थ असिस्टेन्ट भट्टराईले बताए । थोदुङ/शिब खिम्ती जेभीले ६ करोड ५९ लाख ८ हजार ९७८ रुपैयाँमा स्वास्थ्यचौकी खाल्ले, बासपानी, जलेश्वरी र बाकाचोलको भवन निर्माण गर्ने ठेक्का लिएको हो । 


    जग्गादाता सहित ६ जनालाई सम्मान


    स्वास्थ्यचौकीको नयाँ भवन उद्घाटनकाक्रममा जग्गादाता सहित ६ जनालाई सम्मान गरिएको छ । स्वास्थ्यचौकीका लागि निःशुल्क जग्गा दिने मोतीप्रसाद अधिकारी, गोबिन्द भण्डारी, लिलाप्रसाद भण्डारी र बोलनादेबी भण्डारीलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा सम्झौता अनुसार स्वास्थ्यचौकीको भवन निर्माण गरेर हस्तान्तरण गर्ने उपभोक्ता समितिका अध्यक्ष जीवन राई र स्वास्थ्यचौकीको सुरुको संरचनाको अवस्थाका बारेमा समाचारमार्फत उजागर गरेकामा नागरिक दैनिकका पत्रकार दमन राईलाई पनि सम्मान गरिएको छ । सम्मानित सबैलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको छ । 

    प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - २१:५५:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको