खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित कोटगैरा (घुमाउनेचौंर) मा खेलमैदान निर्माणका क्रममा विवाद भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को अन्तिममा युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको ३० लाखमा सुरु गरिएको हलेसी तुवाचुङ फुटबल ग्राउण्ड निर्माणका क्रममा विवाद चुलिएको हो ।
‘एक स्थानीय तह एक खेलमैदान निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम सुरुवाती चरणबाटै विवादमा फसेको हो ।
मालपोत कार्यालयमा जग्गा धनीको हक हिस्सा ‘सरकारी’ र जग्गाको किसिम ‘वनमारा’ उल्लेख भएको भन्दै नगरपालिकाले घुमाउनेचौंरको कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना ११ दाम जग्गामा नगरपालिकाले खेलमैदान निर्माण सुरु गरेको थियो । तर, ऐतिहासिक होलेसुङगढीलाई असर पुग्ने र चण्डीडाँडा सामुदायिक वनमा क्षती पुग्ने भन्दै सव–डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय, वन तथा भू–संरक्षण विभाग र अख्तियारमा उजुरी परेपछि खेलमैदान निर्माणको काम बिचैमा रोकिएको छ ।
ऐतिहासिक खुला संग्रहालय बनाउन प्रस्ताव गरिएको सो क्षेत्रमा नगर कार्यपालिकाको बैशाख १९ गतेको बैठकले खेलमैदान निर्माण गर्ने निर्णय गरेको थियो । सो स्थानमा डिपिआर तयार पारेर फुटबल, भलिबल, एथ्लेटिक्स, मार्सल आर्ट, व्याडमिन्टन लगायतका खेलकुद सञ्चालन गर्न मिल्नेगरी खेलमैदान निर्माण सुरु गरिएको थियो ।
सरकारी घना जंगलमा निर्माण गरिने खेमैदानका कारण जंगल विनास हुने भन्दै दुर्छिमका नेकपा माओबादीका नेता पूर्वगाविस अध्यक्ष कुवेरमणि राईले अन्यत्र स्थानमा खेलमैदान निर्माण गर्न भन्दै जेठ ३० गते सव–डिभिजन वन कार्यालय महादेवस्थानमा उजुरी दिए ।
सव–डिभिजन वन कार्यालयले पनि जेठ ३१ गते सरकारी वन क्षेत्रमा खेलमैदान खन्न नदिन नगरपालिकालाई पत्राचार गरेको थियो । तर सो पत्रलाई बेवास्ता गर्दै विक्रम राई अध्यक्ष रहेको उपभोक्ता समितिले असार १३ गते घुमाउनेचौंरमा खेलमैदान निर्माण सुरु गरेको थियो ।
डिभिजन वन कार्यालयको असार १३ गतेको अर्को पत्रअनुसार सोही दिन नगरपालिकाले खेलमैदानको काम रोक्न उपभोक्ता समितिलाई पत्र पठाएको थियो । जंगल मासेर खेलमैदान बनाउन लागेको भन्दै दुर्छिमकै इच्छाराम राईले दिएको उजुरीको सम्वन्धमा आवश्यक छानविन गरी प्रचलित कानून बमोजिम गर्नु÷गराउनु भन्दै वन तथा भू–संरक्षण विभागको असार ७ गतेको पत्र अनुसार डिभिजन वन कार्यालयले असार १३ गतेकै दिन सव–डिभिजन वन कार्यालय महादेवस्थानलाई पनि पत्र पठाएको थियो ।
खेलमैदान निर्माणको काम रोक्नका लागि सव–डिभिजन, डिभिजन वन कार्यालयदेखि वन तथा भू–संरक्षण विभागमा मात्र नभएर अख्तियारसम्म उजुरी पुग्यो । इच्छाराम राईले असार १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नगरप्रमुख इवन राई, दुर्छिमका वडाध्यक्ष रमेश तिवारी र उपभोक्ता समितिका अध्यक्ष राईलाई विपक्षी बनाएर उजुरी दिए । अख्तियारमा आफैले उजुरी हाल्न लगाएको कुबेरमणि बताउँछन् ।
अख्तियारमै उजुरी परेपछि बन्द भएको खेलमैदान निर्माणको काम पुःन असार २२ गते कोटगैराका स्थानीयको अगुवाईमा सुचारु गरियो । विवादकाविच सुचारु गरिएको काम रोक्नका लागि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा सुरक्षा बल सहित दुर्छिम पुगेका थिए । तर, स्थानीय रोकिएका छैनन् ।
उनीहरुले पुःन साउन ११ र १२ गते खेलमैदान खनेका छन् । खेलमैदान निर्माणका क्रममा हालसम्म २५–३० बोट चिलाउनेको रुख ढलेको निर्माण उपभोक्ता समितिका सचिव फलामसिं राईले स्वीकार गरे ।
१ करोड ७९ लाख ५८ हजारको लागत स्टीमेट गरिएको खेलमैदानका लागि नगरपालिकाको ३० प्रतिशत रकम लागत साझेदारी हुने भनिएको छ । उपभोक्ता समितिले १० लाख पेश्की लिएर खेलमैदान निर्माणको काम सुरु गरेको थियो । घुमाउनेचौंरको सो जग्गा सरकारी भएको आधारमा खेलमैदान निर्माणको काम सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख राईले बताए ।
सो जग्गालाई सरकारी जग्गा भनिए पनि चुमाखुका ११ मोहीले हालसम्म दावी प्रस्तुत गरेको देखिन्छ । खेलमैदान निर्माणका लागि डिपिआर तयार पारिरहेकै बेला मोहीले बैशाख १६ गते नगरपालिकालाई डिपिआर तयार नगर्न निवेदन दिएका थिए । बिक्रम सम्वत १९९९ सालमा नामासी दर्ता भएको पाखो जग्गाको २०२४ सालको ७ नम्बर फारम भएको मोहीको दावी छ ।
नापीमा छुट भएको सो जग्गालाई कानूनी प्रक्रियाबाट छुट दर्ता गर्ने प्रयास भइरहेकै बेला नगरपालिकाले सोही स्थानमा खेलमैदान निर्माण थालेको हो । नगरपालिकाकातर्फबाट २०७७ साल कात्तिक २ गते युवा तथा खेलकुद मन्त्रालयमा सहकार्य गर्नेगरी बजेट माग गरिएको थियो ।
चार सय वर्षअघि होलेसुङका सन्तानले शासन गर्दा तालिम केन्द्रका रुपमा प्रयोग गरेका कारण घुमाउरोचौंरलाई वन कार्यालयले संरक्षण गर्नुपर्ने कुबेरमणिले बताए । ‘यो ऐतिहासिक स्थल हो । यसको वनले संरक्षण गर्नुपर्छ भन्ने माग हो,’ उनले भने, ‘त्यो ऐतिहासिक तालिम केन्द्र हो । बाँचुञ्जेल ग्राउण्ड खन्न दिइन्न ।’
खेलमैदान निर्माण योजना विवादित बनेपछि र अख्तियारसम्म उजुरी परेपछि युवा तथा खेलकुद मन्त्रालयको बजेट फ्रिज भएको छ । पेश्की स्वरुप लिइएको १० लाख पनि कामको मूल्यांकन गरेर बाँकी रहने रकम फिर्ता गर्ने उपभोक्ता समितिका सचिव राईले बताए ।
खेलमैदान निर्माणको कामलाई सफल पार्नका लागि कोटगैराका स्थानीयले ६ लाख रकम संकलन गरिसकेको बताएका छन् । उपभोक्ता समितिका सचिव राईले जुनसुकै हालतमा खेलमैदान निर्माणको काम सम्पन्न गर्ने दावी गरे । ‘खेलमैदान खन्न नदिने र जुनसुकै हालतमा खन्ने’ कित्ताकाटले विवाद अरु बढ्ने देखिएको छ ।
अवरोध आएपछि पक्षका स्थानीय आफ्नै तरिकाले खेलमैदान निर्माणमा अघि सरेको दुर्छिमका वडाध्यक्ष रमेश तिवारीले बताए । सो जग्गाको सिमाना २०७७ साल असोज २६ गते कायम गरिएको थियो । जग्गा यकिन गर्नका लागि नगरपालिकाले गत जेठ ३१ गते मालपोतमा पत्राचार गरेको थियो । सो पत्रका आधारमा मालपोतले असार १ गते जग्गा धनीको हक हिस्सा ‘सरकारी’ र जग्गाको किसिम ‘वनमारा’ उल्लेख गरेर जानकारी पठाएको थियो ।
दुर्छिमको कोटगैरा सिरानमा पर्ने घुमाउनेचौंर नजिकै ऐतिहासिक होलेसुङगढी पर्छ जहाँबाट होलेसुङ (चाम्लिङ राजा) ले शासन गरेका थिए । हाल नजिकै रकगार्डेन बनाइएको छ । होलेसुङ रिसोर्ट बनेको छ । सोही डाँडामा रेडियो खोटाङको कार्यालय सञ्चालनमा छ ।
थोरै मुनि नगरपालिकाको कार्यालय राखिएको छ । घुमाउनेचौंर आसपासमा क्रमशः भौतिक संरचना बन्न थालेका छन् । पछिल्लो समय घुमाउनेचौंर सम्भावनायुक्त स्थानका रुपमा विकास हुँदैछ । घुमाउनेचौंरको भविष्यलाई मध्यनजर गर्दै मोहीले पुःन जग्गा दर्ताको प्रयास गरिरहेकैबेला त्यही ठाउँमा खेलमैदान निर्माण सुरु गर्नुलाई विवादको एउटा कारण मानिएको छ । खेलमैदान खन्दैगर्दा पनि मोहीको टोली निर्माणस्थल पुगेका थिए ।
अर्कातर्फ ऐतिहासिक होलेसुङगढी क्षेत्रमा पर्ने भएकाले घुमाउनेचौंर आसपासमा खुला ऐतिहासिक संग्रहालय बनाउने परिकल्पना गरिएको छ । दुर्छिमकै प्राज्ञिक, बौद्धिक तथा सामाजिक व्यक्ति आवद्ध होसेलुङ समुह, नेपालको परिकल्पनामा हलेसी गुरुयोजनामै खुला संग्रहालय बनाउने योजना समावेस गरिएको छ ।
केहीले यही आधारलाई टेकेर सो स्थानलाई चलाउन नहुने तर्क अघि सारेका छन् । नेकपा माओवादी केन्द्रका युवा नेता राजुविक्रम चाम्लिङ खुला संग्रहालय बनाउनका लागि डिपिआर तयार पारिसकेको ठाउँमा नगरपालिकाले खेलमैदान बनाउने निर्णय गरेकाले समस्या सिर्जना भएको बताउँछन् ।
विवादमा नेकपा विभाजनको समेत प्रभाव जोडिएको छ । खेलमैदानका लागि नगरप्रमुख राईसँगै ओलीनिकट वडाध्यक्ष तिवारी पनि अघि सरे । बजेट स्वीकृत हुँदासम्ममा एमाले र माओवादी केन्द्र अलग भइसकेको थियो । यसको पनि धेरथोर असर ग्राउण्डमा पुगेको देखिन्छ । अर्कातर्फ खेलमैदान निर्माणका लागि बजेट बिनियोजन भएदेखि उपभोक्ता समिति गठनसम्मको प्रक्रियाका बारेमा बेखबर बनाइएको कतिपयको गुनासो छ ।
यस्तै, दुर्छिमकै बोहेम्मामा चार÷पाँच वर्षअघि नै कृष्णराम–मोतिप्रसाद राई खेलमैदान निर्माण भइसकेको छ । कृष्णराम–मोतिप्रसाद खेलमैदान निर्माणमा अगुवाइ गरेका स्थानीयको चाहना एउटै वडामा अर्को खेलमैदान बनाउनुको सट्टा बनिसकेका खेलमैदानलाई नै सरोन्नती होस् भन्ने छ । अर्को खेलमैदान बने कृष्णराम–मोतिप्रसाद खेलमैदान ओझेलमा पर्ने सक्ने बुझाईले पनि विवादमा मलजल पु¥याएको छ ।
अख्तियारमा उजुरी दिने इच्छाराम र खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बिक्रमबिचको व्यक्तिगत टकरावको असर समेत खेलमैदान निर्माणमा परेको कतिपयको विश्लेषण छ । कुनैबेला इच्छाराम र विक्रम क्रमशः एउटै विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्ष थिए ।
खेलमैदानमा विवाद उत्पन्न गरेर नगरप्रमुखमाथि आक्रमण गर्ने ‘इन्टेरेष्ट’ले पनि यसमा वल पु¥याएको छ । नगरप्रमुख राई भने घुमाउनेचौंरको जग्गा व्यक्तिको नाममा ल्याउने प्रपञ्चकै कारण खेलमैदान निर्माणमा अवरोध गरिएको दावी गर्छन् । ‘सुरुमा गढी मासियो भनियो, त्यसपछि वन मासियो भनियो र अन्तमा व्यक्तिको जग्गामा खेलमैदान निर्माण गर्न लागियो भन्दै इस्यू ट्वीस्ट गरिएको छ ।
अनावश्यक चलखेल भएको छ,’ नगरप्रमुख राईले भने, ‘नत्र ऐतिहासिक क्षेत्रमा खेलमैदान बनाउन हुन्न भन्नेले ऐतिहासिक क्षेत्रको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कोसिस पनि गर्नुहुँदैन भन्न सक्नु पर्छ । गढीको योजनावद्ध विकासमा नगर प्रतिवद्ध छ ।’
एकातिर ऐतिहासिक जग्गा भन्ने अर्कातर्फ त्यही जग्गा व्यक्तिको नाममा ल्याउन खोज्ने भूमिकाले विवाद निम्तिएको जनता समाजवादी पार्टीका नेता मविन्द्र राई बताउँछन् । कथमकदाचित सो जग्गा व्यक्तिको नाममा जाने अवस्था आए के गर्ने भन्ने प्रश्न पनि अनुत्तरित छ । चुमाखुका मोही र कोटगैराका स्थानीयविचमा द्वन्द्व सिर्जना गर्ने किसिमले उत्पन्न विवाद हल गर्नमा भने हालसम्म कसैको अग्रसरता देखिएको छैन ।
घुमाउनेचौंरमा खेलमैदान निर्माणका क्रममा अवरोध भएपछि कोटगैराका स्थानीयले असार १५ गते नगरपालिकामा निवेदन दिँदै होलेसुङगढी रहेको चण्डीडाँडा सामुदायिक वन क्षेत्रमा पनि भौतिक संरचना निर्माण रोक्न माग गरे । सामुदायिक वन क्षेत्रभित्र खेलमैदान निर्माण गर्न नदिने भए सामुदायिक वन क्षेत्रभित्रै पर्ने होलेसुङगढी आसपासमा पनि भौतिक संरचना निर्माण गर्न नदिने उनीहरुको अड्को छ ।
चण्डीडाँडा सामुदायिक वनमा होलेसुङ पार्क, प्रवेश द्धार लगायतका संरचना निर्माण भइसकेको छ । वनजंगललाई नछुने हो भने कुनै पनि विकास निर्माणको काम सम्भव नहुने स्थानीय सुवास राईले बताए । ‘सडक बनाउँदा वन मासिएको छ । विद्युत विस्तार गर्दा वन मासिएको छ,’ राईले भने, ‘वनलाई जोगाउनु पर्छ तर वनलाई नछोइकन विकास सम्भव छैन ।
विकास गर्दा सवैतिर वनमा क्षती पुगेको देखेकै छौँ ।’ एकअर्कामा यही अड्को थाप्दै जाने हो भने चण्डीडाँडा सामुदायिक वन क्षेत्रमा पर्ने होलेसुङगढीमा अन्य संरचना बनाउन झन् कठिन हुने देखिन्छ । जवकी होलेसुङगढी संरक्षणका लागि चालु आर्थिक वर्ष पुरातत्व विभागबाट २५ लाख र प्रदेश सरकारबाट ५० लाख (नगरको लागत साझेदारी सहित ७० लाख) लगायतका बजेट विनियोजन भएको छ ।
खेलमैदान निर्माणको काम अलपत्र परेको दोषको हिलो भने एकले अर्कालाई छ्याप्न थालिएको छ । नगरप्रमुख राई माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको अवरोधका कारण खेलमैदान निर्माणको काम अघि बढ्न नसकेको आरोप लगाउँछन् । वनमा उजुरी दिने र अख्तियारमा उजुरी दिन लगाउने कुबेरमणि नेकपा माओवादी केन्द्र सम्वद्ध भएकाले पार्टी मुछिएको नगरप्रमुख राईको तर्क छ ।
‘देशमा कांग्रेस, माओवादी केन्द्र लगायतको सरकार छ । यहाँ भने माओवादीका साथीहरुले दुःख दिने काम गरेको छ,’ नगरप्रमुख राईले भने, ‘उजुरी दिनेदेखि सिडियो, डिएफओलाई काम रोक्नका लागि प्रेसर गर्न जाने उहाँहरु नै हो ।’ कुवेरमणि भने नगरप्रमुखको दावीसँग सहमत छैनन् ।
‘म एउटा राजनैतिक कार्यकर्ता हो । तर खेलमैदानको विषयमा राजनीति गरिएको छैन,’ कुबेरमणिले भने, ‘ऐतिहासिक स्थललाई जोगाउन पर्छ भन्ने कुरा हो । जग्गा त्यहाँ मात्र छैन । अन्यत्र पनि ग्राउण्ड बनाउन सकिन्छ ।’